साउन्ड डिजाइनमा श्रेष्ठ राजकृष्ण रहेनन्



कुशल साउन्ड डिजाइनर राजकृष्ण श्रेष्ठको निधन भएको छ।

स्वास्थ्य समस्याका कारण करिब डेढ महिना अघिदेखि क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा भर्ना गरिएका उनको उपचारकै क्रममा निधन भएको हो। थप परीक्षण र उपचारका लागि वीर अस्पताल सारिएका उनको उपचारका क्रममा सोही अस्पतालमा निधन भएको उनको पारिवारिक सूत्रले जानकारी गराएको छ। स्वास्थ्य परीक्षणको क्रममा उनलाई जण्डिस भएको ठहरिएको थियो। उपचारको क्रममा स्वास्थ्यमा सुधार आए पनि बुधबार अचानक स्वास प्रश्वास समस्या थपिएको र बिहीबार बिहान उनकोे असामयिक निधन भएको हो। साउन्ड डिजाइनर श्रेष्ठको परिवारमा श्रीमती र छोरी छन्।

चार दशकअघि नेपाली फिल्मको ध्वनि प्राविधिकका रुपमा करियर शुरु गरेका श्रेष्ठले पछि आपूmलाई यही क्षेत्रमा अघि बढाउँदै साउन्ड डिजाइनरका रुपमा स्थापित गरेका थिए। श्रेष्ठले तृष्णा, देउकी, प्रेयसी, विद्रोह, वीर गणेशमान लगायतका सयौं फिल्ममा साउन्ड डिजाइनरको रुपमा कार्य गर्दै आएका थिए। उनले विश्वप्रसिद्ध चिनियाँ सिरियल पश्चिम तिरको यात्रा, ब्रुसलीको कथा, सुयान चाङको नेपाली संस्करणका लागि समेत साउन्ड डिजाइनको कार्य गरेका थिए। स्व. श्रेष्ठले साउन्ड डिजाइनकै क्षेत्रमा दर्जनौं अवार्ड प्राप्त गरेका थिए। राजकृष्णलाई नेपाली फिल्मको ध्वनि प्रणालीको क्षेत्रमा श्रेष्ठ मानिन्थ्यो।

प्रतिक्रिया दिनुहोस्