काठमाडौंमा पाल्पाली महोत्सव हुने



विभिन्न जिल्लाबाट काठमाडौं आई बसोवास गर्दै आएकामध्येको सबैभन्दा पुरानो संस्था पाल्पाली संगमले स्थापना दिवसको अवसर पारेर राजधानीमा पाल्पा महोत्सव २०८० आयोजना गर्ने भएको छ।

पाल्पाली संगमले आगामी शनिबार प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा एक दिने महोत्सव आयोजना गर्न लागेको सो संस्थाका अध्यक्ष विष्णुबहादुर खत्रीले जानकारी गराएका छन्। पाल्पाली कला, संस्कृति, उत्पादन, परिकार, पहिरन, पहिचान र पर्यटन प्रवद्र्धन तथा ऐतिहासिक पुरातात्विक र धार्मिक क्षेत्रको प्रचार-प्रसार अभिवृद्धिका लागि आयोजना गर्न लागिएको महोत्सवमा विभिन्न कलाकारले गीत-संगीत प्रस्तुत गर्ने आयोजक संस्थाका सचिव बालकृष्ण पोखरेलले जानकारी गराए। उनका अनुसार महोत्सवमा पाल्पाको स्थानीय कला संस्कृति झल्किने कौरा, सोरठी नाच, खेली, चुट्का नृत्यका साथ पाल्पाली कलाकारहरुको विशेष प्रस्तुति रहनेछ। महोत्सव पाल्पाली कलाकाहरु नारायण रायमाझी, बद्री पंगेनी, धीरेन शाक्य, इन्द्र जिसी, रीता थापा मगर, दुर्गा रायमाझी, लक्ष्मी न्यौपाने, शिरिष देवकोटा, जमुना राना, पुष्कल शर्मा, नविन पौडेल, अर्जुन कौशल, अमृत अधिकारी, रीता केसी, सिर्जना मगर, श्रीकृष्ण क्षत्री, स्मृति तिमिल्सिना, सम्झना रायमाझी, हुम गैरे, डोलराज बारघरे, श्रीदेवी देवकोटा, प्रकाश गौतमलगायतको सहभागितामा सम्पन्न हुने पोखरेलले जानकारी गराए।

महोत्सवमा मनोरञ्जक प्रस्तुतिका साथमा रक्तदान, निःशुल्क स्वास्थ्य परीक्षण र औषधि वितरण, चुकाउनी, बटुकलगायतका पाल्पाली परिकार, ढाका तथा करुवाजस्ता पाल्पाली घरेलु उत्पादन, पाल्पासम्बन्धी फोटो, भिडियो र पुस्तक प्रदर्शन तथा बिक्री वितरण गरिने सचिव पोखरेलले जानकारी गराए। उनका अनुसार महोत्सव स्थलमा निःशुल्क प्रवेश गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्