नेपाल-भारतको फिल्म बजारका लागि सहमति



नेपाल फिल्म प्रमोसन सर्किट (एनएफपीसी) र भारतको फिल्म एन्ड टेलिभिजन प्रमोसन काउन्सिल (एफटीपीसी) बीच दुई मुलुकको संस्कृतिसँगै फिल्मको बजार आदान प्रदान गर्ने वातावरण सिर्जना गर्ने सहमति भएको छ।

चलचित्र विकास बोर्डमा हालै आयोजित इन्डो–नेपाल सिनेमा एक्सचेन्ज समिट २०२३ मा नेपाल र भारतका दुई फिल्म सम्बद्ध यी संस्थाबीच आफ्नो मुलुकमा बनेका फिल्मलाई एक अर्काको देशमा रहेका ओटीटी र हलमा रिलिज गर्ने सहमति भएको हो। समिटका प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले द्विपक्षीय सहमतिलाई नेपाली फिल्मको हितमा प्रयोग गर्न आग्रह गरे। एनएफपीसीकी अध्यक्ष नूतन न्यौपानेले सांस्कृतिक आदानप्रदानको रुपमा नेपाली फिल्मलाई तेलुगु भाषामा डबिङ गरेर दक्षिण भारतका ओटीटीमा रिलिज गरी एक अर्काको फिल्मलाई रिलिज गर्ने तयारी गरिरहेको बताइन्। यसका लागि आफूहरुसँग १५ देखि १८ ओटीटी प्लेटफर्म रहेको जानकारी उनले गराइन्।

एनएफपीसी महासचिव तथा निर्देशक हिमाल न्यौपानेले स्तरीय दक्षिण भारतीय फिल्मलाई नेपाली ओटीटी प्लेटफर्म र हलमा रिलिज गर्नेबारे गृहकार्य भइरहेको बताए। एफटीपीसी सचिव पीभीएस बर्माले नेपाल र भारतबीच कला र सांस्कृतिक आदानप्रदान गर्न आफूहरु लागिपरेको बताए। एफटीपीसी अध्यक्ष चैतन्य जंगको नेतृत्वमा दक्षिण भारतीय फिल्म टोली केही दिनदेखि काठमाडौंमा छ। समारोहाम अध्यक्ष जंगले नेपाल र भारतबीच छायांकन थलो आदान प्रदान पनि महत्वपूर्ण पक्ष बन्न सक्ने बताए। समिटको क्रममा नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय गर्न महत्वपूर्ण भूमिका खेल्ने कलाकार, संगीतकर्मी, प्रदर्शक, निर्माता र निर्देशकलाई सम्मान गरिएको थिया

प्रतिक्रिया दिनुहोस्