काभ्रेमा २ सय ९४ शिक्षक पदस्थापन



काभ्रे। 

काभ्रेपलाञ्चोक जिल्लाका १३ वटा पालिकामा प्राथमिक तहमा ३ सय २२ शिक्षक आवश्यक भए पनि शिक्षा आयोगबाट उर्तिण भएका शिक्षकहरुको संख्या कमी भएकाले पहिलो चरणमा २ सय ९४ जना शिक्षकको दरबन्दी काभ्रे पठाइएको छ ।

‘२०७८ पुष १४ गते प्राथमिक तह, तृतीय श्रेणी शिक्षक पदको खुल्ला प्रतियोगितात्मक परीक्षाबाट उर्तिण भएका शिक्षकहरुलाई आयोगको सिफारिस, मन्त्रीस्तरीय निर्णय र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको २०७९ चैत्र ५ गतेको निर्णय अनुसार नियुक्ति तथा पदस्थापन गरिनेछ’– शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख गोकर्णध्वज कार्कीले भन्नुभयो–‘२०७९ चैत्र १२ गते सात दिनको म्याद दिएर सिफारिस भएका उम्मेदवारहरुले स्थानीय तह छनौट गर्ने सूचना प्रकाशन गरिएको थियो । सबै शिक्षकहरुलाई स्थानीय तहमा पदस्थापनका लागि पठाई सकेका छौं ।’ स्थानीय तहले शिक्षा समन्वय इकाईले पदस्थापनका लागि पठाएका शिक्षकहरुलाई ७ दिन भित्र पालिका भित्र रहेका विद्यालयमा पदस्थापन गरिसक्नु पर्नेछ । पदस्थापन गर्दा रिक्त दरवन्दीले अपुग भई अस्थायी करारका शिक्षक हट्नु पर्ने अवस्थामा सेवाका आधारमा कनिष्ठ अस्थायी शिक्षक हट्ने गरी व्यवस्था मिलाउनु पर्ने छ । त्यसमा पनि  क र ख श्रेणीका अपाङ्गता भएका महिलाको हकमा प्राथमिकतामा राखी पदस्थापन गर्नु पर्ने छ ।

जिल्लाका १३ पालिका मध्ये महाभारत गाउँपालिकामा सबै भन्दा धेरै ६० जना शिक्षक पदस्थापन हुनेछन् । धुलिखेल नगरपालिकामा शिक्षक पदस्थापनका लागि दरबन्दी छैन । पनौती नगरपालिकामा २, पाँचखालमा १२, नमोबुद्धमा १८, मण्डनदेउपुरमा ३५, चौरीदेउरालीमा ३७, तेमालमा ३३, रोशीमा ३१, बेथान्चोकमा १०, खानीखोलामा ३०, भुम्लुमा २०, बनेपामा ६ वटा दरवन्दीमा शिक्षक पदस्थापन हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्