बालबालिकाको स्वागतमा भक्कानिए अभिभावक



काभ्रे।

निजी विद्यालयमा घोकन्ते शिक्षा मात्रै प्रदान गरिन्छ भन्ने तथ्यहरु विस्तारै खण्डित हुन थालेका छन् । बनेपाको बेलर इन्टरनेशनल एकेडेमीमा आयोजित अभिभावक दिवसमा मण्टेश्वरी किण्डर गार्टेन ‘किड्स क्यास्टल’तथा प्राथमिक तहका बालबालिकाहरुले संस्कार सहितको प्रस्तुति देखाएपछि सहभागी अभिभावकहरु भावुक भए ।

‘विद्यालयले शिक्षा मात्रै प्रदान गर्दैन । बालबालिकाहरुलाई असल नागरिक बन्न प्रेरित गर्ने ज्ञान, सिप र उनीहरूको क्षमतालाई चिन्दै संस्कार युक्त वातावरण प्रदान गर्छ’–बेलर इन्टरनेशनल स्कुल बनेपाका अध्यक्ष भोला थापाले भन्नुभयो–‘नैतिकवान, चरित्रवान, संस्कार र सिपयुक्त बालबालिका तयार गर्ने योजना अनुरुप बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा तथा अतिरिक्त क्रियाकलापमा सहभागी गराइएको छ ।’

कक्षा ५ मा अध्ययन गर्ने बालबालिकाहरुले हजुरबुबा हजुरआमाहरुलाई बुढेशकालको साहारा आफू लौरो बनेर उभ्भिने वाचा गर्दै अभिभावकहरुको आँखामा गहभरी आँसु पार्न बाध्य बनाए । केही अभिभावकहरु नातिनातिनाले गरेको व्यवहारका कारण भक्कानिएका थिए ।

विद्यालयले सिकाएको संस्कारमा अभिभावकहरुको समेत माया ममता र इज्जत सहितको वातावरणले बालबालिकाहरुलाई थप उत्साह प्रदान भएको प्रिन्सिपल इन्दु थापाले बताउनुभयो ।

बालबालिकाहरुले आफै तयार गरेका सामाग्रीद्वारा हजुरबुबा हजुरआमाहरुलाई स्वागत गरेका थिए भने आमाहरुलाई गीत सहित मञ्चमै राखेर असल नागरिक बन्ने प्रण गरेका थिए । फरक खालको वातावरण र असल संस्कारका लागि अतिरिक्त क्रियाकलाप, बदलिँदो परिबेशको फेसनयुक्त वातावरण, विभिन्न खेल तथा नृत्यका साथै व्यक्तिगत प्रतिभालाई विद्यालयले प्राथमिकतामा राखेको प्रबन्ध निर्देशक पवनकुमार थापाले बताउनु भयो ।

बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले बेलर नमुना विद्यालयका रुपमा स्थापित भएकाले बालबालिकाहरुका लागि गुणस्तरीय शिक्षाका साथै असल नागरिक बन्न उत्प्रेरित गर्न सुझाव दिनु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका निर्वतमान अध्यक्ष मोतीराम तिमल्सिना, गुरुकुल क्याम्पसका प्रमुख भगीरथ अधिकारी, विद्यार्थीहरु लगायतले बालबालिकाहरुलाई उचित शिक्षा प्रदानका लागि बेलर सही गन्तव्य भएको बताउनु भएको थियो ।

किड्स क्यास्टलकी प्रिन्सिपल सविना कारञ्जितले बालबालिकाहरुको सिकाईमा उनीहरूको क्षमता र दक्षतालाई प्रभावकारी बनाउन विद्यालयले वातावरण तयार गरेको बताउनुभयो । बेलर इन्टरनेशल स्कुल बनेपामा मन्टेश्वरी देखि क्याम्पस तहसम्म करिव १ हजार ५ सय विद्यार्थी अध्ययन गरिरहेका छन् ।

काठमाडौँ विश्वविद्यालय तथा विभिन्न शैक्षिक संस्थासँग साझेदारीमा शैक्षिक कार्यक्रम संचालन गरिरहेको विद्यालयले विद्यार्थीहरुलाई स्वेदशमै स्वरोजगार हुने गरी संचालन गरिरहेका शैक्षिक कार्यक्रममा आकर्षण पनि बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्