धमाधम मन्टेश्वरीमा ‘दीक्षान्त’ 



काभ्रे ।

मन्टेश्वरी सञ्चालन गरेका विद्यालयहरुले धमाधम बालबालिकाहरुलाई दीक्षित गर्दै नयाँ कक्षाका लागि स्वागत गर्न थालेका छन् । शनिबार मात्रै काभ्रेका चार वटा मन्टेश्वरीमा अध्ययनरत विद्यालयहरुले बालबालिकाहरुलाई दीक्षित गरेका छन् ।

धुलिखेलको समुन्नत पाठशाला, अर्किड इन्टरनेशनल, डिस्कवरी, किड जोन मन्टेश्वरीले बालबालिकाहरुलाई दीक्षित गरेका छन् । यस अघि बनेपामा रहेको बेलर स्कुलको किड्स क्यास्टल लगायतले बालबालिकाहरुलाई दीक्षित गरेका थिए ।

समुन्नत पाठशाला धुलिखेलको पाँचौ बार्षिकोत्सव तथा तेस्रो दीक्षान्त समारोह धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुको प्रमुख आतिथ्य तथा व्यवस्थापन समिति अध्यक्ष देवकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ ।

कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका सह प्राध्यापक डा. हेमराज काफ्ले, वडा अध्यक्ष उत्तम कुमार तिमल्सिना, प्याब्सन धुलिखेलका अध्यक्ष मुक्ति रिजाल, समाजसेवीहरु दिपककुमार दाहाल, जनक तिमल्सिना, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना लगायतले बालबालिकाहरुलाई नैतिक, चरित्रवान र संस्कारयुक्त शिक्षाको आवश्यकता रहेको बताएका थिए ।

१३ जनाको संयुक्त लगानीमा संचालित समुन्नत पाठशालामा १ सय ३८ बालबालिका अध्ययनरत छन् । २ जनाबाट शुरु भएको पाठशालाले बालबालिकाहरुको समुन्नत विकासका लागि फरक खालको सिकाई विधि मार्फत बालबालिकाहरुलाई अध्ययनमा उत्प्रेरित गरेको प्रिन्सिपल अनिता आचार्यले बताउनु भयो । तेस्रो दीक्षान्त समारोहमा २० जना बालबालिकाहरु दीक्षित भएका थिए ।

त्यस्तै बनेपामा रहेको अर्किड ईन्टरनेशनल एकेडेमीको १३ औ वार्षिकउत्सब तथा दीक्षान्त सामारोह बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

संस्थापक प्रिन्सिपल अनिता प्रजापतिले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै २०६६ सालमा स्थापना गरिएको विद्यालयमा  मन्टेश्वरी सहित प्राथमिक तह कक्षा ५ सम्म १ सय ७५ जना बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा र संस्कार तथा ब्यवहारयुक्त सिकाई प्रदान गरिएको बताउनु भयो । प्रिन्सिपल प्रजापतिले आगामी शैक्षिक सत्र २०८० देखी कक्षा ६ सम्म अध्यापन हुने र प्रत्येक वर्ष कक्षाहरु थप गर्दै लगिने बताउनुभयो ।

बालबालिकाहरुको रुचि अनुसार अतिरिक्त क्रियाकलापमा सहभागी गराउँदै नृत्य, युसिमास, ईसिए कक्षाहरु सञ्चालन गरिरहेको बताउँदै नयाँ शैक्षिक सत्रबाट फुटबल, योगा, ध्यान, कराँते लगाएतका अतिरिक्त कक्षाहरु थप गरिएको प्रिन्सिपल प्रजापतिले बताउनु भयो । व्यवहारिक ज्ञान र गुणस्तरलाई प्राथमिकतामा राखी सञ्चालन गरिएका शैक्षिक कार्यक्रमहरुलाई अझै प्रभावकारी बनाउन शिक्षकहरुको क्षमता वृद्धिका लागी रातो वंगला र गुरुकुल विद्यालयका प्रशिक्षकहरुबाट तालिम प्रदान गरिएको, भौतिक निर्माण गर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको ब्राण्ड प्राप्त गर्ने शिक्षा प्रदान गरिएको प्रिन्सिपल अनिता प्रजापतिले बताउनु भयो ।

कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर ८ का अध्यक्ष शुभलक्ष्मी मानन्धर, व्यवस्थापन समितिका अध्यक्ष रोशन श्रेष्ठ, सचिव रञ्जित पलाञ्चोके, अभिभावक र विद्यार्थीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा स–साना बालबालिकाहरुले नृत्य तथा गीत प्रस्तुत गरेका थिए भने युकेजीका १७ जना बालबालिकाहरुलाई दीक्षित गरिएको थियो ।

कार्यक्रममा संस्थागत प्रिन्सिपल अनिता प्रजापति र शिक्षक दिपा श्रेष्ठलाई सम्मान गरिएको थियो । कार्यक्रम विद्यालयका सञ्चालक समितिका अध्यक्ष पुकार कर्ण जितको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्