नेपाल प्रेस इन्स्टिच्यूटमा ३८औं समूह पूरा



काठमाडौँ।

नेपाल प्रेस इन्स्टिच्यूटको ३८औं समूहमा सहभागी २८ प्रशिक्षार्थी पत्रकारमध्ये १५ जनाले तालिम कार्यक्रम पूरा गरेका छन् । शुक्रबार काठमाडौं, विराटनगर र नेपालगञ्जमा एकसाथ सम्पन्न अन्तिम परीक्षाका साथ यस समूहको तालिम पूरा भएको हो ।

तालिमका मुख्य संयोजक एवम् प्रशिक्षक कपिल काफ्लेका अनुसार गत असारदेखि शुरु भएको अनलाइन कक्षाबाट तालिम पूरा गर्ने सहभागीमध्ये काठमाडौंमा १२, विराटनगरमा २ र नेपालगञ्जमा १ जनाले परीक्षा दिए ।

६ महिना सैद्धान्तिक कक्षा र ४ महिने प्रयोगात्मक अभ्याससहित तालिम प्राप्त सहभागीहरु योग्य पत्रकार बनेको इन्ष्टिच्यूटले जनाएको छ । राष्ट्रिय तथा मोफसलका विभिन्न सञ्चारगृहमा प्रयोगात्मक अभ्यास गरेका उनीहरुको दक्षता मापन गरी प्रमाणपत्र दिने जनाइएको छ ।

सहभागीलाई १२ विज्ञ तथा अनुभवी प्रशिक्षकले प्रशिक्षण दिएका थिए । इन्ष्टिच्यूटले १० महिने तालिमको ३९औं समूह आगामी जेठ महिनादेखि शुरु हुने जनाएको छ ।

यसैबीच इन्ष्टिच्यूटले यही चैत्रमा एक महिने पत्रकारिता प्रशिक्षक प्रशिक्षण सञ्चालन गरिरहेको छ भने वैशाखमा समाचार सङ्कलन, लेखन तथा अन्तरवार्ता तालिम सञ्चालन गर्दैछ । इन्ष्टिच्यूटले २०४२ सालदेखि पत्रकारिता तालिम, मिडिया अनुगमन तथा अनुसन्धानका कार्य निरन्तर सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्