‘स्वस्थ शहर’ निर्माणमा धुलिखेल



काठमाडौँ। 

विश्व स्वास्थ्य संगठन डब्लुएचओले  ७ सय ५३ वटा पालिका मध्ये नेपालमै पहिलो पटक धुलिखेल नगरपालिकालाई स्वस्थ शहरको रुपमा सदस्यता दिने भएको छ । डेढ महिना भित्र नै धुलिखेल नगरपालिकाले नेपालको पहिलो स्वस्थ शहरको रुपमा सदस्यता प्राप्त गर्ने जानकारी डब्लुएचओले दिएको धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जुले जानकारी दिनु भएको छ।

नगर प्रमुख ब्याञ्जुले स्वस्थ शहरको मान्यता प्राप्त गर्न स्वास्थ्य, पूर्वाधार र गरिबी निवारणको क्षेत्रमा ठुलो तयारी गरेको बताउनुभयो । उहाँका  अनुसार नगरपालिकाले भौतिक पूर्वाधार सँगसँगै मानवीय आधारभूत आवश्यकतालाई पनि सँगै लगिरहेको छ  । दिगो विकास लक्ष्यका चार वटा लक्ष्य शिक्षा, स्वास्थ्य, खानेपानी र गरिबी निवारणको क्षेत्रमा गरेका काम विश्वका ८ वटा देशमा सिकाइरहेको उहाँले बताउनुभयो । विश्वका अन्य देशले समेत धुलिखेलले अघि सारेको विकासको मोडललाई अनुकरण गरिरहेका उहँको भनाइ थियो ।

नगर प्रमुख व्याञ्जुले २३ करोडको लागतमा फोहोरमैला व्यवस्थापनको काम भइरहेको बताउनुभयो । धुलिखेल मात्रै नभई पनौती र बनेपामा उत्पन्न हुने फोहोरमैला पनि लिएर काम गर्ने योजनामा समन्वय भइरहेको उहाँले बताउनुभयो । बनेपाको  फोहोर काठमाण्डौं पुर्‍याउन नपर्ने उहाँको भनाइ  थियो ।फोहोरबाट ग्यास उत्पादन गर्ने र  कम्पोस्ट मल बनाउने उहाँले बताउनुभयो ।

नगरपालिकाका ८६ प्रतिशत घरमा स्वच्छ खानेपानी उपलब्ध गराइएको, पोषणयुक्त धुलिखेल नगरपालिका निर्माणका लागि युनिसेफसँगको साझेदारीमा काम गरिएको, शहरी क्षेत्रमा घरबाट निस्कने ३१ प्रतिशत फोहोर पानी प्रशोधन गर्ने, ट्रिटमेन्ट प्लान्ट सुधार गर्ने नगरपालिकाको लक्ष्य रहेको उहाँले बताउनुभयो ।

त्यस्तै  रोग नै लाग्न नदिन के गर्ने भन्ने योजनामा नगरपालिका रहेको र  समुदायमा चेतना विकास गर्ने, स्वास्थ्यलाई  प्राथमिकतामा राख्ने  काम भइरहेको नगर प्रमुख ब्याञ्जुले बताउनुभयो  ।
धुलिखेल नगरपालिकाको पहलमा ७२ प्रतिशत नगरवासीको स्वास्थ्य बीमा  सम्पन्न भएको छ । यसबाट थोरै रकमबाट धेरै सेवा लिन सकिने अवस्था बनेको छ ।

स्वास्थ्य स्वयंसेवीकाको नेतृत्वमा समुदायमा बनाइएको स्वास्थय समितिको भूमिका अझै प्रभावकारी बनाउन आवश्यक रहेको उहाँको भनाई छ । आम जनतालाई स्वस्थ बनाउने विषयले क्षयरोग मुक्त नगर बनाउने अभियानमा सघाउ पुग्ने छ । जनताकै साथले मात्रै यो काम सम्भव हुने उहाँले बताउनु भयो ।मानिस बिरामी भएर अस्पताल जााने भन्दा गाउँमा गएर खोजी  गर्दा विरामकिो संख्या धेरै भेटिएको स्वास्थ्य शाखा प्रमुख सन्दीप  केसीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्