सेनाको सफा हिमाल अभियान : सोलुखुम्बुको नाम्चे पुग्यो टोली 



काठमाडौँ।

सफा हिमाल अभियान, २०२३ अन्तर्गत सगरमाथा/ल्होत्से हिमाल सफाइको लागि प्रमुख सेनानी किशोर अधिकारीको नेतृत्वमा १६ जनाको टोली सोलुखुम्बुको सोमबार नाम्चे पुगेको छ ।

उक्त टोलीले सगरमाथा तथा ल्होत्से हिमालको सफाई कार्यलाई थप प्रभावकारी बनाउन स्थानीय जनसमुदायसँग अन्तर्क्रिया गरि ७ दिनको पदयात्रा पश्चात सगरमाथा आधार शिविर पुग्ने योजना रहेको छ । पदयात्राको क्रममा स्थानीय बासिन्दाहरुमा सचेतना जगाउन एवं अभियानको प्रचार प्रसारको लागि पदमार्गहरुमा सरसफाइ समेत गर्ने कार्यक्रम रहेको  बताइएको छ।

यस अघि  गत शुक्रबार  अन्नपूर्ण हिमाल सफाइको लागि सह सेनानी भिम बहादुर भुजेलको नेतृत्वमा १० जनाको टोली अन्नपूर्ण आधार शिविर पुगिसकेको छ । आधार शिविर जाने क्रममा उक्त टोलीलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले चैत्र १६ गते स्वागत गर्नु भई महानगरपालिकाको लोगो अङ्कित झन्डा हस्तान्तरण गर्नु भएको थियो ।

अन्नपूर्ण हिमाल सफाई अभियानमा पोखरा महानगरपालिकाको समेत सहकार्य रहेको छ ।

यस्तै  बरुञ्‍चे हिमाल सफाइको लागि नेपाली सेनाको टोली मिति यही  चैत्र २३ गते आधार शिविरतर्फ प्रस्थान गर्ने योजना रहेको छ । यस वर्ष सफा हिमाल अभियान अन्तर्गत सगरमाथा, ल्होत्से, बरुञ्‍चे र अन्नपूर्ण हिमालहरुबाट करिब ३५ टन फोहोर संकलन गर्ने लक्ष्य नेपाली सेनाले लिएको   छ ।

 

 

प्रतिक्रिया दिनुहोस्