नेपाल समाचारपत्रकर्मी बानियाँलाई रेडक्रसद्वारा सम्मान



म्याग्दी ।

कामना न्युज पब्लिकेशनद्वारा प्रकाशित नेपाल समाचारपत्र राष्ट्रिय दैनिकको म्याग्दी संवाददाता प्रताप बानियाँ हिँजो (शनिवार) सम्मानित हुनुभएको छ । नेपाल रेडक्रस सोसाइटी पुलाचौर उपशाखाको २०औं साधारणसभा तथा अधिवेशनको अवसरमा बानियाँ सम्मानित हुनुभएको हो ।

नेपाल समाचारपत्र दैनिकका संवाददाता बानियाँलाई पत्रकारिताको माध्यमबाट रेडक्रसले सञ्चालन गरेको विभिन्न सामाजिक गतिविधि र अभियानलाई समुदायस्तरमा पुर्‍याएको योगदानको उच्च कदर गर्दै म्याग्दी जिल्लाको उत्कृष्ट पत्रकारको रुपमा सम्मान गरिएको रेडक्रस पुलाचौर उपशाखाले जनाएको छ ।

म्याग्दीको क्रियाशील पत्रकार समेत रहनुभएका संवाददाता बानियाँलाई कार्यक्रमका प्रमुख अतिथि रेडक्रस म्याग्दीका सभापति अमर बानियाँ, पूर्व सभापति माधवप्रसाद रेग्मी, पुलाचौरका वडा अध्यक्ष गोविन्द बानियाँ र उपशाखा सभापति शिव बानियाँले अबिरको टिका तथा माला लगाएर सम्मानपत्रले सम्मान गर्नुभएको थियो ।

म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौर चिप्लेटीका बानियाँ बेनीमा बसेर विगत एक दशकदेखि पत्रकारिता गर्दै आउनुभएको छ । उहाँ बेनीबाट प्रकाशित हुँदै आइरहेको स्थानीय रुप्से दैनिक पत्रिकाको सहसम्पादकको रुपमा कार्यरत हुनुहुन्छ । प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीको अध्यक्ष समेत रहनुभएका पत्रकार बानियाँ रेडक्रस, पत्रकार महासंघ, मिलन म्याग्दी, ओमकुमारी शान्ति कोषलगायत विभिन्न सामाजिक संघसंस्थामा आबद्ध हुनुहुन्छ ।

यसैगरी रेडक्रसको अभियानमा सहयोग पुर्‍याउनुहुने अन्य व्यक्तिहरु तथा संस्थालाई पनि सम्मानपत्र, दोसल्ला र मायाको चिनोसहित सम्मान गरिएको छ । संस्थागत सम्मानतर्फ भृकुटी आमा समूह भिरमुनि र युवा रेडक्रस सर्कल जनकल्याण माविलाई नगदसहित सम्मानपत्रले सम्मान गरिएको थियो ।

त्यस्तै सम्मानित हुनेहरुमा रेडक्रस म्याग्दीका सभापति अमर बानियाँ, पुलाचौरका वडाध्यक्ष गोविन्द बानियाँ, रेडक्रसका पूर्व जिल्ला सभापति माधवप्रसाद रेग्मी, यशस्कर सदस्य यामबहादुर बानियाँ, निवर्तमान वडाध्यक्ष लक्ष्मण बानियाँ, उपशाखाको पूर्व कोषाध्यक्ष रामप्रसाद सुवेदी, रेडक्रस म्याग्दीका शाखा अधिकृत धनञ्जयकुमार श्रेष्ठ, रेडक्रसकर्मी शान्ति पौडेल र यामकुमारी श्रेष्ठ रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्