आन्तरिक र बाह्य पर्यटकलाई लोभ्याउन अर्घाखाँचीको कुँडुलेमा जीपलाइन, स्काई साइक्लिङ र स्काई क्याफे सञ्चालनमा 



बुटवल। 

अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाको वडा नम्बर  १२ कुंडुलेमा गुँरास जङ्गल रिसोर्ट र याग्रो फार्मले सेवा शुभारम्भ गरेको छ ।

गोरुसिङ्गे–सन्धिखर्क सडकको डोहोटेदेखि २ किलोमिटर माथि कुँडुले जङ्गलमा आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरी जीपलाइन, स्काई साइक्लिङ, स्काई क्याफे र नेपालमै पहिलो पटक स्काई बेड (तारमा झुन्डिएर सुत्ने बेड ) र घोडचढी सहित रिसोर्ट सञ्चालनमा आएको हो ।

गुल्मीका ४ जना  उद्यमीहरु नारायण भुसाल, प्रियंका अर्याल, निर्मला भट्टराई र स्मृति भुसालको ८ करोडको लगानीमा १ सय रोपनी जग्गामा बनेको रिसोर्ट तथा  याग्रो फार्ममा १० वटा वाताकुलित आवासीय कोठा र बाल उद्यान पनि छ । रिसोर्टले आफ्नै बारीमा प्रांगारिक तरकारी खेती, स्थानीय जातका बाख्रा, कालिज र रैथाने कुखुरा पालन पनि गरेको छ ।

कृषि पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले निकट भविष्यमै कृषि तथा पशु विज्ञान अध्ययन गराउने कलेज सञ्चालन गरी विद्यार्थीलाई आत्मनिर्भर बनाउने तथा स्विमिङ पुल, फिसिङ तथा विभिन्न साहसिक खेलहरु थप गर्ने लक्ष्य रहेको रिसोर्टका सञ्चालक नारायण भुसालले बताए ।

‘ग्राहकलाई आफ्नै  उत्पादनको स्वाद र साहसिक मनोरञ्जन सहित जङ्गलमा आकर्षक र सुविधायुक्त पर्यटकीय गन्तव्य बनाउन खोजेका छौँ’–भुसालले भने–‘अर्घाखाँचीमा सुपादेउराली मन्दिरपछि आकर्षक पर्यटकीय गन्तव्य बनाई भारतीय पर्यटकलाई भित्राउने लक्ष्य छ ।’

कृषि कलेजमा अध्ययन गरे पश्चात् विद्यार्थीलाई स्वदेशमै कृषि उद्यम गर्न चाहेमा कालिज, रैथाने कुखुरा लौकाठका चल्ला तथा उन्नत जातका बाख्राका प्रजातिहरु उपलब्ध गराउने र उत्पादन भएका मासुजन्य पशुपंक्षि प्रा.लि.ले बजारीकरणको व्यवस्था गरिदिने प्रालिका व्यवस्थापक गोपाल भट्टराईले बताए । रिसोर्टसहित सय वटा बाख्रा, १५ सय कालिज र २ हजार रैथाने कुखुरा पालनमा रिसोर्टले हाल १५ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्