जापानबाट विपन्नलाई सघाउँछन् विनयप्रकाश

समस्यामा परेका डडेल्धुराबासीलाई एक करोड बढी आर्थिक सहयोग



डडेलधुरा । 

जापानमा व्यवसाय गर्दै आएका अमरगढी नगरपालिका–४ खलङ्गा निवासी समाजसेवी विनयप्रकाश मल्ल दुःख परेका बेला गरिबका सहारा बन्न थाल्नु भएको छ । उहाँले विभिन्न विपत्तिमा परेका डडेल्धुराबासीका लागि हालसम्म एक करोड बढी आर्थिक सहयोग गरिसक्नु भएको छ ।

आर्थिक अभावका कारण उपचार गर्न नसकेका बिरामीहरुले उपचारका लागि, समाजसेवीहरुले विभिन्न सामाजिक कामका लागि र यहाँका सामुदायिक विद्यालयहरुले समेत आर्थिक सहयोग आवश्यक परेमा समाजसेवी मल्ललाई सम्झिन्छन् । मन्दिर निर्माण, धार्मिक कार्यक्रमदेखि खेलकुद प्रतियोगिता आयोजना गर्न डडेल्धुराबासीले मल्लसँग सहयोगको याचना गर्छन् । सहयोग माग्नेलाई निर्धक्क आर्थिक सहयोग गर्ने मल्लको बानीका कारण आर्थिक समस्या परेका जो कोहीले मल्ललाई सम्झिन्छन् ।

डडेलधुरा सदरमुकामस्थित अमरगढी नगरपालिकाका ११ वटै वडामा रहेका विभिन्न सामुदायिक विद्यालयहरुमा ६० हजार रुपैयाँदेखि दुई लाखसम्मको अक्षय कोष स्थापनाका लागि आर्थिक सहयोग गरेका मल्लले जापानमा मल्ल किङ्स कम्पनी सञ्चालन गरिरहनु भएको छ । विभिन्न रोगको उपचार गरिरहेका बिरामी, सवारी दुर्घटनाका घाइतेहरु र सामाजिक सुरक्षा भत्ताबाट बञ्जित स्थानीयलाई सहयो गर्न मल्ल किङ्ग्स कम्पनी जापानमा कार्यरत कर्मचारीहरु र अन्य शुभचिन्तकमार्फत मल्लले हालै ९० हजार रुपैयाँ संकलन गरेर पठाएको र सो रकम नेपाल पत्रकार महासंघ डडेलधुरा शाखाले सम्बन्धित ब्यक्तिहरुलाई हस्तान्तरण गरेको छ ।

मल्ल किङ्ग्स कम्पनीमा आबद्ध कर्मचारी तथा शुभचिन्तकको तर्फबाट ९० हजार सहयोग पठाइएको जापानमा रहेको कम्पनीका सञ्चालक समाजसेवी मल्लले जानकारी दिनुभयो । मोटरसाइकल दुर्घटनाबाट घाइते भएका गन्यापधुरा गाउँपालिका– ३ का प्रहरी कर्मचारी हर्केश विष्टको उपचारका लागि २५ हजार रुपैयाँ सहयोग गरिएको छ । समाजसेवी मल्लले यसअघि विष्टको उपचारका लागि ५० हजार रुपैयाँ सहयोग गर्नु भएको थियो ।

हाल काठमाण्डौंमा उपचाररत विष्टलाई भेटेर समाजसेवी मल्लका साथीहरुले विष्टलाई रकम हस्तान्तरण गरेका छन् । गन्यापधुरा–१ की क्यान्सर पीडित धर्मादेवी महताको उपचारका लागि १५ हजार, अमरगढी–१ का दुर्घटनाबाट घाइते नरेन्द्र ऐरको उपचारका लागि १५ हजार, दुर्घटनाबाट घाइते अमरगढी–१ मालमका जगतसिंह विष्टको उपचारका लागि १५ हजार, रुखबाट खसेर गम्भीर घाइते भएकी अजयमेरु गाउँपालिका–३ निवासी जमुना चन्द मल्लको लागि १० हजार र सामाजिक सुरक्षा भत्ताबाट बञ्चित अमरगढी–३ मरकट्टेकी ९१ वर्षीय अनितादेवी बिष्टका लागि १० हजार रुपैयाँ नेपाल पत्रकार महासंघ डडेलधुरा शाखाको कार्यालयबाट वितरण गरिएको नेपाल पत्रकार महासंघ डडेलधुरा शाखाका सचिव पुष्कर भण्डारीले जानकारी दिनुभयो ।

नेपाली नागरिकताको प्रमाण पत्र नभएका कारण सामाजिक सुरक्षा भत्ताबाट बञ्चित अमरगढी–३ मरकट्टेकी ९१ वर्षीय विष्टले विपन्नताका कारण सदैव आर्थिक समस्यामा परिरहेको बताउँदै जापानबाट रकम पठाउने समाजसेवी मल्लप्रति आभार व्यक्त गर्नुभयो । उहाँले समाजसेवी मल्लजस्ता मनकारी युवाका कारण आपत् विपत्मा परेका नागरिकहरुले सहयोग प्राप्त गरिरहेको बताउँदै समाजसेवी मल्लको दीर्घायुका लागि आर्शिवाद दिनुभयो ।

सवारी दुर्घटनामा घाइते नाति नरेन्द्र ऐरलाई प्रदान गरिएको सहयोग रकम बुझ्न आएका बाजे रामबहादुर ऐरले समाजसेवी मल्लको सामाजिक भावनाको उच्च कदरगर्दै सामाजिक सेवामा उनको थप सफलताका लागि प्रार्थना गरिरहेको बताउनु भयो । समाजसेवी मल्लले हालसम्म डडेलधुरा जिल्लामा एक करोड भन्दा बढी आर्थिक सहयोग गरिसकेको र विपत्तिमा परेका जुनसुकै व्यक्तिलाई पनि दिल खोलेर आर्थिक सहयोग गरिराख्नु भएको स्थानीय अगुवा श्याम सिनालले बताउनु भयो ।

समाजसेवी मल्लले उपकार कोष स्थापना गरेर समस्यामा परेका जिल्लाबासीहरुलाई सहयोग गर्ने तयारी गरिरहेको बताउनु भएको छ । उहाँले जिल्लाको शैक्षिक सुधारका लागि जेहन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्ने, उपचार खर्च नभएका विपन्न समुदायका बिरामीहरूलाई उपचारका लागि आर्थिक सहयोग गर्ने र दुर्गमस्थानहरुमा खानेपानी, शौचालय निर्माण, सिँचाई योजना र बाटोघाटो निर्माणका लागि समेत आर्थिक सहयोग गर्ने हिसाबले उपकार कोष सञ्चालनमा ल्याउने तयारी भइरहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्