लागूऔषध सेवन गरी सवारी साधन चलाउने ४ जना चालक प्रहरीको नियन्त्रणमा



काठमाडौँ।

काठमाडौँको कोटेश्‍वर क्षेत्रमा गरिएको विशेष चेकिङका क्रममा लागूऔषध सेवन गरी सवारी साधन चलाउने ४ जना चालकहरूलाई शुक्रबार राति प्रहरीले नियन्त्रणमा लिएको छ ।

बा ५ ख ८४५५ नम्बरको टिपर चालक दोलखाको मेलुङ गाउँपालिका ३ का २४ वर्षीय कुमार कार्की, बा ४ ख ७३४७ नम्बरको टिपरका चालक काभ्रेपलाञ्चोकको पनौती नगरपालिका ४ का ३३ वर्षीय विजय तामाङ, बा १ ज ८९६१ नम्बरको ट्याक्सीका चालक सिन्धुलीको कमलामाई नगरपालिका ६ का २३ वर्षीय ईन्द्र बहादुर बस्नेत र बागमति प्रदेश-०३-००१ ख १००४ नम्बरको लहरीका चालक नुवाकोटको विदुर नगरपालिका ४ का २६ वर्षीय अर्जुन लामालाई लागूऔषध सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला पारी प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा आएका चारै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त बानेश्‍वर पठाइएको छ ।

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग कोटेश्‍वरको संयुक्त टोलिले गएराति १० बजेदेखि १२ बजेसम्म २१ ओटा सवारी साधन चेकजाँच गर्दा लागुऔषध सेवन गरी सवारी साधन चलाइरहेका ४ जना चालकहरू फेला पारेको थियो ।

मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई लामो समयदेखि नै ट्राफिक प्रहरीले कारबाही गर्दै आए तापनि पछिल्लो समय लागूऔषध समेत सेवन गरेर सवारी साधन चलाउने चालक भेटिन थालेपछि लागुऔषध चेकजाँच अभियानलाई तिव्रताका साथ अगाडी बढाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभयो ।

मादक पदार्थ तथा लागूऔषध सेवन गरी सवारी साधन चलाउँदा सवारी दुर्घटना हुनुको साथै मानव स्वास्थ्यमा समेत नकरात्मक असर पर्ने गर्दछ । सवारी साधनका चालकले लागुऔषध सेवन गरी सवारी साधन चलाए/नचलाएको सम्बन्धमा प्राविधिक टोली सहित टि.एच.सि.(THC) किटको प्रयोग गरी गत साउन ९ गतेबाट ट्राफिक प्रहरीले चेकजाँच अभियान सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्