“एक कप चिया”को तेह्रौ वार्षिकोत्सव सम्पन्न



काठमाडौं।

तीन दशक अगाडि स्थापना भएको युवा नेत्र सेवाले गरिबहरुलाई लक्षित गर्दै समवेदनशिल आँखा अन्दोपनबाट हटाउने उद्देश्यले सेवा क्षेत्रमा कार्यरत हुँदै आर्थिक स्रोत जुटाउन एक दशक अगाडि “एक कप चिया” को नारा दिई सञ्चालन गरेको शनिबार टेकूस्थित भिभा बैंक्वेटमा तेह्रो वार्षिकोत्सव सम्पन्न भयो ।

उक्त अवसरमा प्रमुख अतिथि नेपाल आँखा अस्पतालका संस्थापक तथा नेपाल नेत्र ज्योति संघका संस्थापक अध्यक्ष प्रो.डा. रामप्रसाद पोखरेलले पासनमा बत्तीबाली उद्घाटन गर्दै कार्यक्रम शुभारम्भ गर्नुभएको कार्यक्रममा उहाँले संस्थालाई शुभकामना दिनुभयो ।

यसै गरी  डा. सविता श्रेष्ठले १ लाख १० हजार रुपियाँ सहयोग युवा नेत्र सेवाका अध्यक्ष सिद्धार्थ रञ्जितलाई हस्तान्तरण गर्नुभयो । कार्यक्रममा साहित्यकार डा. नवराज लम्सालले समाजसेवाको क्षेत्रमा युवा नेत्र सेवाको भूमिका बारे विचार व्यक्त गर्नुभएको थियो । यस्तै आजीवन सदस्य र सदस्यहरुलाई अतिथि प्रो.डा. पोखरेले सम्मानपत्रमा सम्मान गरेको थियो ।

यसै गरी उक्त कार्यक्रममा “एक कप चिया” का आजीवन सदस्य नरेन्द्रप्रसाद अधिकारीले आफ्नो मन्तव्य राख्नुभयो भने संस्थाका महासचिव रोशन महर्जनले स्वागत मन्तव्य राख्नुभएको थियो ।

कोषाध्यक्ष शर्मिला डंगोलले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै डंगोलले भन्नुभयो– सदस्यहरुको सहयोग रकम मोतीविन्दु देखिएका बिरामीहरुलाई कीर्तिपुरस्थित नगरमण्डप श्रीकीर्ति विहारमा शल्यक्रिया गरिएको र विभिन्न क्षेत्रमा आँखाको शिविर चलाउँदै जाने क्रममा तुरुन्त मोतिविन्दुको शल्यक्रिया गर्नुपर्ने भएमा नमस्ते आँखा सेन्टरमा निःशुल्क शल्यक्रिया गरिएको बताउनुभयो ।

यसै गरी कार्यक्रममा युवा नेत्र सेवाका अध्यक्ष सिद्धार्थ रञ्जितले अतिथि प्रो.डा. पोखरेललाई मायाको चिनो प्रदान गर्नुभयो । “सेवाले स्थापना गरेको पाँच वर्षसम्म आफ्नै स्रोत साधन चन्दादाताहरुको सहयोग र सदस्यहरुको तन मन धनले मुस्किलले सेवा प्रदान गर्दै आएको थियो । स्रोत साधन र व्यक्तिहरुले चाहेर पनि सेवा विस्तार गर्न सकेका थिएनौं” –संस्थाका अध्यक्ष सिद्धार्थ रञ्जितले बताउनुभयो ।

उहाँले भन्नुभयो– “आज हामी विभिन्न दुर्गम गाउँमा गएर विपन्न व्यक्तिहरुलाई आँखाको ज्योति दिन सफल भएका छौं । अझ धेरैभन्दा धेरै दुर्गभ गाउँमा पुगी विपन्न व्यक्तिहरुको आँखा उपचारमा लाग्ने र निःशुल्क आँखा केन्द्रहरु स्थापना गरी नमुना समाजसेवा गर्ने लक्ष्य बोकेका छौं ।” आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्दै “एक कप चिया” का सम्पूर्ण सदस्यहरु तथा आजीवन सदस्यहरुलाई धन्यवाद दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्