अधिवक्ता जंगममाथि कारबाही गर्न न्यायाधीशहरुको पत्र



काभ्रे। 

अधिवक्ता दीपक शर्मा जंगमले काभ्रेपलाञ्चोक जिल्ला अदालतका श्रेस्तेदार एवं मेलमिलापकर्ता उप सचिव गोविन्द घिमिरेमाथि कार्यकक्षमै हातपातको प्रयास, अमर्यादित तथा अपमानजनक व्यवहार गरेको भन्दै काभ्रेपलाञ्चोक जिल्ला अदालतका न्यायाधीशहरुको संयुक्त बैठकले कानुन व्यवसायी अधिवक्ता जंगमलाई कारबाहीका लागि जिल्ला बार इकाईले पत्र लेखेको छ ।

‘वादी गुनमाया तामाङ र प्रतिवादी बुद्ध तामाङ समेत भएको अंशचलन लगायतका ६ थान मुद्दामा अदालतका श्रेस्तेदार गोविन्दप्रसाद घिमिरेलाई २०७९ पुस २४ गते जिल्ला अदालतको इजलासबाट भएको आदेशअनुसार मेलमिलापकर्ताको रुपमा छनौट गरिएकोमा मुद्दाका दुवै पक्षहरु मेलमिलाप गर्न इच्छुक भएकोमा मेलमिलापको लिखत तयार गर्ने सम्बन्धमा बादी गुनमाया तामाङका कानुन व्यवसायी अधिवक्ता दीपक शर्मा जंगमले मेलमिलापकर्ता तथा अदालतका श्रेस्तेदार गोविन्दप्रसाद घिमिरेलाई २०७९ चैत १५ गते काभ्रेपलाञ्चोक जिल्ला बार इकाईका अध्यक्ष विष्णुप्रसाद सापकोटाकै उपस्थितिमा तथानाम गालीगलौज र हातपातसम्मको प्रयास गरेको हुँदा अदालतका कर्मचारीमा काम गर्ने असहज वातावरण सिर्जना भएको छ । श्रेस्तेदारकै कार्यकक्षमा कानुन व्यवसायीबाटै असुरक्षित महसुस गर्ने परिस्थिति सृजना भएको हुँदा कानुन व्यवसायीले पालना गर्नु पर्ने आचारसंहिता लगायतका विषयमा छानबिन गरी निजको पेशा प्रतिको प्रतिबद्धता यकिन गरी कानुन व्यवसायी परिषद् ऐन तथा कानुन बमोजिम आवश्यक कारबाही हुन एवं अदालतका श्रेस्तेदारमाथि अपमानजनक, अमर्यादित व्यवहार भएको हुँदा सबै कर्मचारीहरु समेतले सुरक्षित र भयरहित वातावरणले काम गर्न सक्ने वातावरण समेत नभएको हुँदा अधिवक्ता दीपक शर्मा जगममाथि कारबाहीका लागि लेखि पठाउने निर्णय भएको छ’–निमित्त श्रेस्तेदार शेषराज दाहालले भन्नुभयो–‘जिल्ला न्यायाधीश मोहनराज भट्टराई, न्यायाधीशद्धय राजेन्द्र नेपाल र रिताकुमारी बख्रेल, तहशिलदार शेषराज दाहाल, शाखा अधिकृतद्धय अप्सरा चापागाईँ र कुसुम थापाले हस्ताक्षर गरेको पत्र काभ्रे बार इकाईमा पठाइएको छ ।’

प्रतिक्रिया दिनुहोस्