‘गुफा’ ले जन्मायो नयाँ गन्तब्य



नमोबुद्ध। 

धार्मिक, संस्कृति तथा ऐतिहासिक पुरातत्त्वको समेत क्षेत्र रहेको नमोबुद्धमा नयाँ गन्तब्य फेला परेको छ । एक पछि अर्को गन्तव्य फेला गर्दै गए पछि स्थानीय र स्थानीय सरकारलाई त्यसको व्यवस्थापन र प्रचारप्रसारको चासो बढेको छ ।

काभ्रेको नमोबुद्ध नगरपालिका ९ साविक छत्रेबाँझ गाविस ९ घट्टेखोलामा देवी देवताको आकृति भएको नयाँ गुफा फेला परेसँगै स्थानीयहरुका अलावा विभिन्न स्थानबाट भक्तालुहरु आउने क्रम बढेको छ ।

सपनामा सोही क्षेत्रमा महादेव पार्वती गणेश सहितको ठुलो मन्दिर रहेको देखेका स्थानीय ८४ वर्षीय चमार सिं लामाले आफन्तलाई भनेपछि एक महिना अघि सोही क्षेत्रमा खोतलेर हेर्दा गुफा फेला परेको हो । ‘बुबाले सपनामा छत्रेबाँझ ९ स्थित घट्टेखोलामा महादेव, पार्वती, गणेश तथा ३३ कोटी देवी देवताको आकृति छ, महादेव ठुलो पोखरीमा बसिरहनु भएको छ । उत्खनन गरेर हेरौँ भन्दै काम्न थाल्नु भयो’–छोरा ज्ञानबहादुर लामाले भन्नुभयो–‘सपना देखेको केही दिनमा जग्गाधनी विनोद लामासहितको टोली गएर उक्त क्षेत्रमा खोतलेर हेर्दा गुफा देखियो । गुफाको मुखमा थोरै खनेर भित्र जाँदा ३३ कोटी देविदेवतासहितको प्राकृतिक रुपमा भगवनाका रुप देखियो ।’ त्यो देखे लगत्तै बुबालाई फेरी सपनामा उक्त क्षेत्रको प्रचार प्रसार गर्न र धार्मिक रुपले संरक्षण गर्न भनेको छोरा ज्ञानबहादुर लामाले बताउनु भयो । चमार सिं लामा उक्त क्षेत्रमा पुगे पछि काम्ने र अक्षता चढाए पछि पहिलाकै अवस्थामा आउने गरेका छन् ।

गुफा फेला परेको जानकारी पाए लगत्तै उक्त क्षेत्रका स्थानीयहरुको दैनिक हेर्ने भिड लाग्न थालेको छ । गुफा भित्र धूप, अबिर लगायतका सामाग्रीहरु चढाउन थालेकाले त्यसका आकृतिहरु पुरिन थालेका छन् । गुफा भित्र थोरै पानी तप तप झरिरहेको छ । विभिन्न स्वरुपका देवी देवताको आकृति देख्न सकिन्छ ।
१५ फिट जति लम्बाई र ५ मिटर जति चौडाइ रहेको गुफा भित्र १० जना जति एकै पटक पुगेर हेर्न सकिन्छ । त्यसको संरक्षणका लागि स्थानीयहरुले छलफल थालेका छन् । गुफा भित्र पस्नेहरुले त्यहाँको आकृतिलाई भगवानको रुप सम्झँदै भाँचेर लैजान थालेका छन् ।

दाउरा चिरिरहेका वडा नम्वर १० का स्थानीयले पहिलो पटक विनोद लामाले गुफा देखेका थिए । गुफा भित्र पस्न नसकेका उनले आफ्नै सालो नवीन जिम्बालाई भित्र पठाए । उसले भित्र भएको अवस्थाका बारेमा बताए पछि सामाजिक सञ्जाल मार्फत जानकारी गराइएको थियो । विनोदका अनुसार स्थानीयहरुलाई जानकारी गराउने, प्रकृतिले निर्माण गरेको भगवानको स्वरुपलाई जोगाई राख्न छलफल शुरु गरिएको छ ।

सामाजिक सञ्जालका कारण भक्तपुर, काठमाडौँ लगायतका स्थानबाट दर्शनार्थीहरु आउन थालेका छन् । वडा नम्वर ९ र १० का अलावा नगरपालिकासँग समेत समन्वय गरेर संरक्षण र प्रचार प्रसार गरिने बताइएको छ।

अहिले प्राकृतिक संरचना फुटाएर घर लैजान थालिएकाले त्यसको रोकथाम गर्ने र अन्य संरचना निर्माण गर्ने विषयमा छलफल भएको छ । गुफाको संरक्षण र विकास तथा प्रचार प्रसारका लागि नमोबुद्ध, दाप्चा तथा अन्य क्षेत्रको सम्पदाहरुको विकास गर्नु पर्ने स्थानीयले अनुरोध गरेका छन् ।

गुफा प्रवेश गर्न आउने आइतमायाले उज्यालो आकृति भएको गुफा भित्र महादेवदेखि कृष्णसम्मको दर्शन गरेको बताउनु भयो । गुफा प्रवेश गर्ने अधिकांश ब्यक्तिहरुले भगवानका सबै रुप देख्न पाएकाले यसको संरक्षण प्रमुख चुनौती रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्