पत्रकारलाई ६३ करोड ४० लाखको बीमा



हेटौंडा।

वागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशका पत्रकारको सामूहिक दुर्घटना बीमा गरेको छ ।
मन्त्रालयले प्रदेशका १३ जिल्लाका १ हजार ५ सय ८५ पत्रकारका लागि राष्ट्रिय बीमा कम्पनी लिमिटेडमार्फत् प्रतिव्यक्ति ४ लाख रुपियाँको दुर्घटना बीमा गरेको मन्त्रालयका शाखा अधिकृत सुरेन्द्र कार्कीले जानकारी दिनुभयो ।

कार्कीका अनुसार ६३ करोड ४० लाख रुपियाँ बराबरको बीमांक रकमको बीमा गरिएको हो । चैत ५ बाट लागू हुने बीमालेखअनुसार बीमित पत्रकारको मृत्यु भए कुल ४ लाख र दुर्घटना भए १ लाख रुपियाँ बराबर औषधोपचार खर्च भुक्तानी दाबी लिन सकिने बीमा कम्पनीलाई उद्धृत गर्दै कार्कीले जानकारी दिनुभयो ।

आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जिम्मेवारी सम्हालेपछि पत्रकारको बीमाको काम छिटो कार्यान्वयन गर्न निर्देशन दिएपछि सामूहिक दुर्घटना बीमा लागू भएको हो । मन्त्री श्रेष्ठले नेपाल पत्रकार महासंघ वागमती प्रदेशलगायत ५ संस्थालाई पत्रकारको क्षमता अभिवृद्धि गर्न सहयोग गरिएको बताउनुभयो ।

यसअघि जंगली हात्तीले ज्यान लिएका मकवानपुरका २ जना र सिन्धुलीका १ मृतकको परिवारलाई मन्त्रीकै पहलमा प्रतिपरिवार एक लाख रुपियाँ राहत उपलब्ध गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्