वीरगन्ज महानगरले अतिक्रमणमा परेको जग्गा फिर्ता गर्‍यो



वीरगन्ज ।

 वीरगन्ज महानगरपालिकाले मंगलबार २ कट्ठा १० धुर  अतिक्रमित जग्गा आफ्नो अधीनमा ल्याएको छ । महानगरपालिकाको वडा नम्बर २४ हुलाकी राजमार्गमा पर्ने सिर्सिया पुल नजिक रहेको अतिक्रमित २ कट्ठा १० धुर जग्गा आफ्नो अधीनमा ल्याएको  हो ।

केही व्यक्तिले वर्षौँदेखि जग्गा अतिक्रमण गरेर व्यक्तिगत प्रयोग गरिरहेको जानकारी पाए लगत्तै नक्सासहित पुगेको महानगरको टोलीले नापी गरेर सार्वजनिक जग्गा आफ्नो अधीनमा ल्याएको हो ।

सार्वजनिक तथा ऐलानी जग्गा अतिक्रमण गरी निजी प्रयोजनमा प्रयोग गर्दै आएको जग्गा खोजी गर्न महानगरको टोलीले अहिले अभियान नै चलाएको छ ।मंगलबार अतिक्रमण हटाउन महानगरका मेयर राजेशमान सिंह आफै पुग्नु भएको थियो । महानगरको ३२ वटै वडामा सार्वजनिक तथा ऐलानी जग्गा खोजी अभियान चलाइएको बताउनुहुँदै कहीँकतै अतिक्रमण भएको सूचना भए आफूलाई जानकारी दिन पनि आग्रह गर्नु भएको छ । आफूहरु सार्वजनिक जग्गा संरक्षणमा कटिबद्ध भएर लागेको भन्दै यसमा सबैको सहयोग जरुरी रहेको पनि बताउनु भयो ।

महानगरले गएको फागुनमा मात्रै वडा नम्बर १९ मा करिब १६ बिघा जग्गा अतिक्रमण मुक्त गराएको थियो । हरेक वडामा रहेका सार्वजनिक जग्गा तथा सम्पत्तिको अभिलेखीकरण गरेर राख्न र आवश्यकता अनुसार प्रयोग गर्न महानगरले यस्तो खोजी अभियान अघि बढाएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्