रत्नराज्य, पाटन र नेपाल कमर्स क्याम्पसमा निर्वाचन गर्न उच्च अदालतको आदेश



काठमाडौं ।

उच्च अदालत पाटनले त्रिभुवन विश्वविद्यालयले रत्नराज्य, पाटन संयुक्त र नेपाल कमर्स क्याम्पस मीनभवनमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नरोक्न र तत्काल गर्न अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश जगदीश घिमिरेको एकल इजलासमा तीनवटै रिटमाथिको सुनुवाइपछि कारण देखाउ आदेशसहित अन्तरिम आदेश जारी भएको हो । ती तीनवटै क्याम्पसमध्य आरआरमा गठबन्धन , पाटन र नेपाल कमर्श क्याम्पसमा नेविसंघबीच आन्तरिक विवाद भएको कारण निर्वाचन हुन सकेको थिएन ।

त्रिबिका तीनैवटा ठुला र महत्वपुर्ण क्याम्पस हो । पाटनमा ७ हजार ६ सय ९ , नेपाल कमर्श क्याम्पसमा ८ हजार १ सय ८८ र आरआरमा ४ हजार ९ सय ७० विद्यार्थी अध्ययनरत छन् । निर्वाचन गर्न नदिन पाटनमा नेविसंघ र क्रान्तिकारीले तालाबन्दी गरेको छ ।

नेपाल कमर्स क्याम्पसको हकमा निर्वाचन अधिकृत नै फरार भएपछि मतदानमा लाइन बसेका विद्यार्थी फर्किएका थिए भने मतपत्र च्यात्ने नेविसंघका तीन विद्यार्थी पक्राउ परेका थिए ।

मंगलवार उच्च अदालतमा ती वटै क्याम्पसमा निर्वाचन माग गर्दै परेको रिट निवेदकको माग बमोजिम अन्तरिम आदेश दिएको हो । रत्नराज्य क्याम्पसका एमए पहिलो सेमेष्टरका विद्यार्थी मदन भण्डारीले रिट दायर गरेका थिए ।

त्यस्तै पाटन संयुक्त क्याम्पसका एमबीएस तेस्रो सेमेस्टरका सुरेश जिसी र नेपाल कमर्स क्याम्पसका दिवस सापकोटाले रिट दायर गरेका थिए ।

तीमध्ये भण्डारी र जिसी अनेरास्ववियुबाट आरआर तथा पाटनका स्ववियु सभापति पदका उम्मेदवार हुन । विद्यार्थी नेता सापकोटा नेपाल कमर्स क्याम्पसका सचिव पदका उम्मेदवार हुन । २०७३ सालमा अदालतकै आदेशबाट आरआर क्याम्पसमा निर्वाचन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्