हराएको एक हप्तापछि पानी ट्यांकीमा भेटियो शव

हत्याको आशंका 



तनहुँ।

तनहुँको म्याग्दे गाउँपालिका ४ मनहरिस्थित पानीको ट्याङ्कीमा महिलाको शव फेला परेको छ । पृथ्वीराजमार्ग देखि करिब दुई सय मिटरको दुरीमा रहेको एक पानी ट्यांकीभित्र महिलाको शव फेला परेको हो ।

उक्त शव पोखरा ३३ की शान्ति श्रेष्ठको रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता मोहनबहादुर खाणले जानकारी दिए । उनका अनुसार शव हत्या गरिएको अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए । उनले चैत ६ गते कास्कीमा महिला हराएको हुलिया सहित निवेदन परेको समेत जानकारी दिए ।
‘स्थानीयहरुलाई दुर्गन्ध आएपछि ट्याङ्की खोलेर हेरेका रहेछन् । हेर्दा शव देखेपछि प्रहरीलाई फोन गरेको हो’ उनले भने,‘केही भाग सडे गलेको अवस्थामा शव थियो । शवको पहिचान उनका छोराले गरेका छन् । घटनालाई हामीले फरक तरिकाले अनुसन्धान गरिरहेका छौं ।’

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्त श्रवण कुमार विकले चैत ६ गते जिल्लामै महिला हराएको निवेदन उनका छोराले दिएको जानकारी दिए । ‘हामीलाई शान्ति श्रेष्ठ हराएको र खोजतलासी गरिपाउँ भनी निवेदन आएको थियो । उनको परिवारले नै निवेदन दिएको थियो’ उनले भने ।

खानेपानी उपभोक्ता समितिका सदस्य समेत रहेका स्थानीय ऋषिनारायण कायस्थले ट्याङ्की खोलेर हेर्दा शव भेटिएको बताए । उनका अनुसार स्थानीयले प्रयोग गर्ने धारामा आउने पानीमा दुर्गन्ध आउन थालेपछि ट्याङ्की खोलेर हेरिएको थियो । ‘पानीमा गन्ध आयो भन्दै सबैले गाई गुई गरेका थिए । मुसा मरेको जस्तो गन्ध आएको थियो । घरमा जडान पाइपमा नै गन्ध आएको थियो’ उनले भने, ‘त्यसपछि के भएको रहेछ भनेर ट्याङ्की खोलेर हेर्दा कपडा जस्तो देखियो सुरुमा पछि पाइपले नियालेर हेर्दा खुट्टा देखियो त्यसपछि मान्छे रहेछ भनेर फोन गरियो ।’

उनका अनुसार ट्यांकीमा ढकनी लगाइएको थियो । शव घोप्टिएको अवस्थामा थियो । ‘कपडा लगाएकै अवस्थामा शव थियो’ उनले भने, ‘ट्यांकीको छेउमा रगत जस्तो पनि देखिएको छ । यो हत्या हुन सक्छ । ट्याङ्की भित्र पसेर ढकनी लगाउन सम्भव छैन ।’ उक्त, ट्यांकीबाट एक सय ३८ घरधुरीमा पानीको पाइप जडान गरिएको छ । सोही पानी स्थानीयले प्रयोग गर्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्