सिद्धलेकमा गाउँसभा सदस्य र शिक्षकको धर्ना



धादिङ। 

सिद्धलेक गाउँपालिकामा पालिका अनुदान शिक्षक निष्कासन नगर्न, सुशासन कायम गर्न माग गर्दै गाउँसभा स्थल अगाडी गाउँसभा सदस्य तथा वडा अध्यक्षहरुले धर्ना दिएका छन् ।

सोमबार भएको सिद्धलेक गाउँपालिकाको १२ औँ गाउँसभामा यसअघि कार्यपालिकामा छलफल नै नभएको विषय कार्यसूचीमा राखिएको, पालिकामा जम्मा हुनुपर्ने ठूलो रकम जम्मा नभएको, पालिकाको अनुदानमा राखिएका शिक्षकहरुलाई बिना कारण निष्कासन गर्न लागिएकोले यसको विरुद्ध १५ जना गाउँसभा सदस्यहरुले गाउँसभाको अवज्ञा गर्दै सभा स्थल अगाडी धर्ना दिएका हुन् ।

गाउँ सभामा बहुमतको आडमा जनताका सवाल भन्दा पनि निहित स्वार्थमा परेर जनचाहना विपरीत काम गरेको आरोप गाउँसभा सदस्यहरुको छ ।

आर्थिक वर्षको अन्त्यसम्म पनि नकुरी वर्षको बिचमा गाउँपालिका अनुदानमा राखिएका ४१ जना शिक्षकहरू निष्कासन गर्न खोजिएपछि शिक्षकहरू समेत ज्ञापन पत्र लिएर गाउँसभा अगाडी धर्नामा बसेका हुन् ।

गाउँपालिका अनुदान र करारका शिक्षकहरू हटाउने हो भने सिद्धलेक गाउँपालिका वडा नम्बर ३ का रेवती आधारभूत विद्यालय , महाकाली आधारभूत विद्यालय लगायतका विद्यालयहरु बन्द हुने अवस्था भएकोले पालिका अनुदानका शिक्षकहरुलाई हटाउन नहुने वडा अध्यक्ष देवबहादुर पुलामीले बताउनुभयो ।

गाउँपालिकामा बजेट अभाव भनिएको भएपनि राजश्वको रुपमा पिपलटार आदमटारसडक निर्माणको क्रममा उत्खनन गरिएको  १ हजार ६ सय ८१ टिप बालुवाको राजश्व बापतको रकम पालिकामा जम्मा नभएकोले सो रकम जम्मा गर्नु पर्ने माग गर्दै आएको गाउँसभा सदस्य बेधनिधि पाठकको भनाइ छ ।

गाउँपालिकाले सडक मर्मतको समयमा उत्खनन गरी निकासी गरिएको बालुवाको प्रतिटिप १ हजार ५० का दरले पालिकाले लिने निर्णय गरिएको थियो ।

गाउँपालिकामा भर्ना गरिएका करारका कर्मचारी निष्कासन गरेर आफ्ना कार्यकर्ता राख्न खोजिएको, पुराना क्रमगत योजनाहरुलाई बेवास्ता गरी नयाँ योजना गाउँसभाभन्दा बाहिरबाट ल्याएर अनुमोदन गर्न खोजेको, पालिका ऐनहरु छलफल बिना नै गाउँ सभामा पेस गर्न लागिएपछि आफूहरूले बहिस्कार गरेको वडा अध्यक्ष झकबहादुर थापाले बताउनुभयो ।

माग सम्बोधन गर्न सुशासन कायम गर्न गाउँपालिका अध्यक्ष परशुराम खतिवडालाई यस अघि नेकपा एमालेले पटक पटक ज्ञापन पत्र बुझाएको, छलफल गरिएको भएपनि सुशासन लगायतका विषयमा पालिका अध्यक्षले बेवास्ता गर्दै आएको एमालेका नेता एवं पूर्व अध्यक्ष प्रेमनाथ सिलवालले बताउनुभयो ।
यस सम्बन्धमा गाउँपालिका अध्यक्ष खतिवडाले मिलाएर सबैलाई लान खोजेको तर उहाँहरु गाउँ सभामा प्रवेश नगरेको बताउँदै सभामा सहभागी भएर आफ्नो कुरा राख्न अनुरोध गरिएको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्