पुर्जा तयारी गर्न लिखत खोज्दै मालपोत कार्यालय



काठमाडौँ। 

मालपोत कार्यालय काभ्रेपलाञ्चोकले साबिक भुम्लु र फलाँटे गाविसमा २०३१ सालमा नापी भएर पुर्जा नपाएका स्थानीयहरुलाई पुर्जा वितरण गरी मालपोत कार्यालयले लिखत खोजिरहेको छ । तत्कालीन समयमा नापी भई सीमा विवादका कारण पुर्जा वितरण नहुँदा सोही क्षेत्रका नागरिकहरुले विजनका आधारमा जग्गा खरिद विक्री गर्दै आएका छन् ।

वर्गीकरण नहुँदा त्यो प्रक्रिया पनि बन्द भएको थियो । कुनै समय बेजिल्ले पासका कारण पनि लिखत खोज्न समय लाग्ने अवस्था छ । प्रमुख मालपोत अधिकृत ऋषिकुमार दाहालले फलाँटे र भुम्लुको समस्या समाधानका लागि प्रक्रिया सुरु गरिएको बताउनु भयो । ‘पुर्जा वितरणका लागि मालपोत कार्यालयले गर्नु पर्ने प्रारम्भिक चरणको प्रक्रिया सुरु गरेको छ’–प्रमुख मालपोत अधिकृत दाहालले भन्नुभयो–‘जति सकिन्छ चाँडो नागरिकहरुलाई पुर्जा वितरणका लागि समन्वय र सहजीकरण गर्नेछौँ ।’ पुर्जा नभएकै कारण भूकम्प पछिको पुर्नर्निमाणमा पनि समस्या भएको थियो । लाभग्राही भए पनि पुर्जा नभएका कारण सम्झौता नहुँदा लामो समयसम्म व्यक्तिले आवास पुनर्निर्माण गर्न पाएनन् ।

भुम्लुटार गाविसमा कुल ६६३ घरधुरी थिए । उक्त क्षेत्रमा ६ हजार ५ सय जनसंख्या थियो । फलाँटे गाविसमा ४१९ घरधुरीमध्ये ५० घरधुरीले मात्र लालपुर्जा पाएका छन् । २०३७ सालमा उक्त क्षेत्रमा ४ हजार ८ सय लिखत तयार गरिएको थियो । उक्त क्षेत्रको फिल्ड बुकका आधारमा मालपोत कार्यालयमा भएको विजन सम्बन्धी लिखत फेला पारे पछि अन्य प्रक्रिया सुरु हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्