विभागीय एपिएफलाई स्तब्ध पादै फ्रेण्डस क्लब तिलोत्तमा गोल्ड कपको सेमिफाइनल प्रवेश



बुटवल।

विभागीय टोली सशस्त्र प्रहरी बल(एपिएफ)लाई स्तब्ध पार्दै फ्रेण्डस क्लबले बुटवलमा जारी २२ औँ तिलोत्तमा गोल्ड कपको सेमिफाइनलको यात्रा तय गरेको  छ ।  गोल्ड कपको सोमवार भएको प्रतियोगिताको तेस्रो खेलमा फ्रेण्डस क्लबले २—१ गोल अन्तरले एपिएफलाई पराजित गरेको हो ।

निकै प्रतिस्पर्धात्मकता भएको खेलमा २—० को अन्तर भोगिरहेको एपिएफले एक गोल गरे पनि जितको लागि पर्याप्त भएन ।

फ्रेण्डसको तर्फबाट खेलको डोना थापा र विदेशी खेलाडी राफिक आमेनुले समान एक एक गोल गरेका थिए । एपिएफको तर्फबाट ९० मिनेट पछिको ईन्जुरी समयमा वीरेन्द्रले गोल गरे पनि खेलमा फर्किन भने सकेनन् ।

खेलमा म्यान अफ द म्याचबाट पुरस्कृत हुँदै फ्रेण्डस क्लबका राफिया एमाण्डुले ११ हजार १ सय ११ रुपैयाँ, यति हेल्मेट र करेन्ट चाउचाउ प्राप्त गरेका छन् । प्रतियोगिता अन्तर्गत  मंगलवारको खेल नेपाल पुलिस क्लब र मनाङ मरस्यादी क्लबका बीच हुने छ ।

रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा एन्फा टेक्निकल सेन्टर देवी नगरमा चलिरहेको तिलोत्तमा गोल्ड कपमा दुई विभागीय सहित ८ टिम सहभागी भएको प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउने संघले जनाएको छ । गोल्ड कपको उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ ।

सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मीड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्