राष्ट्रिय क्रिकेटर मल्ललाई बुटवल उपमहानगरले गर्यो ५० हजार नगदसहित सम्मान



बुटवल । 

बुटवल उपमहानगरपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल मल्ललाई नगदसहित सम्मान गरेको छ । बुटवल ११ देवी नगरका मल्ललाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले दोसल्ला ओढाएर सम्मान पत्र र नगद ५० हजारसहित सम्मान गर्नुभयो ।

कार्यक्रममा क्रिकेटका पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शक्ति गौचन र मल्लकी आमा शर्मिला मल्ललाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

सम्मानपछि बोल्दै नगरप्रमुख खेलराज पाण्डयले कुशल मल्लले क्रिकेटमा गरेको उपलब्धिले बुटवलकै प्रतिष्ठा बढेको बताउनुभयो । उहाँले आगामी दिनमा अरु प्रगति गर्दै नेपाली राष्ट्रिय क्रिकेट टीमको क्याप्टेन बन्ने गरी मेहनत गर्न शुभकामना दिंदै  बुटवलले हरेक हिसाबले साथ दिने बताउनुभयो । नगरमा खेलकुद क्षेत्रको विकासको लागि ३ करोड भन्दा बढी बजेट विनियोजन गरिएको भन्दै खेल पूर्वाधारका क्षेत्रलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।

उहाँले बुटवलमा राष्ट्रिय स्तरका खेलकुद आयोजना गर्नका लागि आवश्यक पूर्वाधार निर्माण र मर्मत सम्भार तथा संरक्षणमा बुटवलले निरन्तर काम गर्दै आएको बताउनुभयो । उहाँले खेल क्षेत्रमा जनशक्ति उत्पादन र प्रोत्साहनका लागि बुटवल उपमहानगरपालिका सधैँ अगाडि रहने बताउनुभयो ।

नगरप्रमुख पाण्डेयले बुटवललाई खेल पर्यटनका माध्यमबाट समेत परिचित गराउने गरी लाग्न खेल क्षेत्रका अगुवा र संघसंस्थाहरुलाई आग्रह गर्नुभयो । उहाँले क्रिकेट खेलमैदान बनाउनका लागि प्रयासरत रहेको र छिटै नै बुटवलमा सुविधा सम्पन्न खेलमैदान बनाउने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा बोल्दै क्रिकेटका पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शक्ति गौचनले बुटवलले सम्मान गरेर खेल क्षेत्रको हौसला बढाएको बताउनुभयो । उहाँले बुटवलमा खेलकुदको धेरै सम्भावना रहेको भन्दै बुटवल उपमहानगरको प्रयास उत्कृष्ट रहेको र यसमा खेल क्षेत्रको साथ रहने बताउनुभयो ।

खेलाडी कुशल मल्लले बुटवल उपमहानगरपालिकाले गरेको सम्मानले आफ्नो मनोबल बढेको र आगामी दिनमा थप मेहनत गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्