नेपोली र रियल अन्तिम आठमा



लन्डन, (एजेन्सी) । इटालियन सिरी ए क्लब नेपोली र स्पेनिस फुटबलका महारथी रियल मेड्रिड यस सिजनको यूईएफए च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

नेपोली क्लबको इतिहासमै पहिलोपटक युइएफए च्याम्पियन्स लिगको अन्तिम आठमा पुगेको हो । अर्कोतिर रियल मेड्रिड भने यस प्रतियोगिताकै सर्वाधिक सफल टोली हो । जर्मन प्रतिद्धन्द्धी आइनट्राख्ट फ्रान्कफर्टलाई दोस्रो लेगमा ३–० ले तथा समग्रमा ५–० को गोलअन्तरले जितसहित नेपोली पहिलोपटक अन्तिम आठमा पुग्न सफल भयो । यसअघि यी दुईबीच भएको पहिलो लेगमा नेपोली २–० ले विजयी भएको थियो । घरेलु मैदान डिएगो अर्मान्डो म्याराडोना रंगशालामा बुधबार राति भएको खेलमा नेपोलीको जितमा भिक्टर ओसिमहेनले दुई तथा पिओटर जिलेन्स्कीले एक गोल गरेका थिए ।

पाहुना टोलीलाई खेलको सुरुवातदेखि नै दवाबमा राखेको नेपोलीले पहिलो गोलको लागि भने पहिलो हाफको इन्ज्युरी समय नै कुर्नुपरेको थियो । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा भिक्टर ओसिमहेनले माटियो पोलिटानोको पासमा गोल गर्न सफल भएका थिए । ५३औं मिनेटमा भिक्टरले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै नेपोलीको अग्रता दोब्बर पारे । ६४औं मिनेटमा पिओटर जिलेन्स्कीले पेनाल्टीमा गोल गर्दै नेपोलीलाई सहज जित दिलाए ।

नेपोली नकआउटको दुवै लेगमा गरेर ५–० को जित निकाल्ने इटालियन क्लबको सूचीमा सामेल भएका छन् । यसअघि युभेन्ट्स र मिलानले समान ५–० गोलअन्तरकै जित निकालेको थियो । त्यस्तै नेपोली अन्तिम आठमा पुगेसँगै सन् २००६ पछि इटालीका तीन टोली अन्तिम आठमा पुगेको छ । यसअघि २००५–०६ को सिजनमा इन्टर मिलान, एसी मिलान र युभेन्ट्स अन्तिम आठमा पुगेका थिए ।

त्यस्तै, फ्रान्सेली फरवार्ड करिम बेन्जेमाको गोलसँगै रियल मेड्रिडले पनि अन्तिम १६ को दुवै लेगमा इंग्लिस क्लब लिभरपुललाई पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो । रियलले दोस्रो लेगमा १–० को तथा समग्रमा ६–२ को फराकिलो जितसँगै अन्तिम आठमा स्थान पक्का गरेको हो । पहिलो लेगमा २–० ले पछि पर्नुका बावजुद रियलले लिभरपुलमाथि उसैको एनफिल्ड मैदानमा ५–२ को सानदार जित दर्ता गरेको थियो ।

सान्टियागो बर्नबेउमा बुधबार राति भएको प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा रियलको जितमा दोस्रो हाफमा कप्तान बेन्जेमाले गरेको गोल नै निर्णायक बन्यो । उनले ७८औं मिनेटमा ब्राजिली विंगर फरवार्ड भिनिसियस जुनियरको पासमा गोल गर्न सफल भएका थिए । लिभरपुलले पनि घरेलु टोलीविरुद्ध गोलको अवसर सिर्जना गरेपनि फिनिसिङको नमुना देखाउन सकेन । सातौ मिनेटमा मोहम्मद सलाहको पासमा डार्विन नुनेजको प्रहारलाई रियलका गोलरक्षक थिवाउट कोर्टुवाले विफल पारेका थिए ।

खेलको १४औं मिनेटमा भिनिसियसको प्रहारलाई लिभरपुलका गोलरक्षक एलिसन बेकरले विफल पारे । २०औं मिनेटमा एडुआर्डाे कामाभिंगाको झन्डै २५ यार्ड टाढाको प्रहार क्रसबारमा लागेर बाहिरिदा रियल अग्रता लिनबाट चुक्यो । २२औं मिनेटमा लुका मोड्रिचको प्रहार सदुपयोग हुन सकेन । ७८औं मिनेटमा बेन्जेमाले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए । इन्ज्युरी समयमा रियलले पेनाल्टीको अपिल गरेपनि भिएआरले त्यसलाई मान्यता दिएन ।

यूईएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेका टोली

इटालियन सिरि ए का क्लब ३— नेपोली, इन्टर मिलान र एसी मिलान
इंग्लिस प्रिमियर लिग क्लब २—चेल्सी र म्यानचेस्टर सिटी
जर्मन बुन्डेसलिगा क्लब १—बायर्न म्युनिख
स्पेनी ला लिगा क्लब १—रियल मेड्रिड
पोर्चुगिज लिग क्लब १—बेन्फिका

प्रतिक्रिया दिनुहोस्