सिटी र इन्टर क्वाटरफाइनलमा



लन्डन, (एजेन्सी) । इटालियन सिरी ए क्लब इन्टर मिलान र इंग्लिश प्रिमियर क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

इन्टर मिलान सन् २०११ पछि युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको हो । १२ वर्षपछि क्वाटरफाइनल प्रवेश गर्ने क्रममा इन्टर मिलानले प्रि–क्वाटरफाइनलमा पोर्चुगिज क्लब एफसी पोर्टाेलाई दोस्रो लेगमा गोलरहित बराबरी रोक्यो । टोलीले समग्रमा १–० को जित निकाल्न सफल भयो । सान सिरोमा भएको पहिलो लेगमा निकालेको १–० को जित नै इन्टरलाई अन्तिम आठमा पुग्न पर्याप्त बन्यो ।

पोर्टाेमा मंगलबार राति भएको खेलको इन्ज्युरी समयमा मेहदी तारेमीको प्रहार पोस्ट र क्रसबारमा लागेर फर्कदा पोर्टाे बराबरीबाट चुकेको थियो । त्यसपछि ब्राजिली विंगर पेपेलाई रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पोर्टाेको खेलमा फर्कने सम्भावना पनि टाढियो । पोर्टाेलाई बराबरीमा रोक्न इन्टरका गोलरक्षक आन्द्रे ओनानाले पनि उत्कृष्ट प्रदर्शन गरे ।

पोर्चुगिज लिगमा दोस्रो स्थानमा रहेको पोर्टाे रियल मेड्रिडबाट तीन पटक च्याम्पियन्स लिग विजेता ४० वर्षीय पोर्चुगिज डिफेन्डर पेपे र मिडफिल्डर ओटाभियोविना मैदान उत्रिदा उनीहरुको अभाव खड्किन पुग्यो । पेपे चोटका कारण तथा ओटाभियो प्रतिबन्धका कारण टोलीमा थिएनन् । घरेलु टोली पोर्टाेले पहिलो हाफमा बढी अवसर सिर्जना गरेको थियो । गोलरक्षक ओनानाले ती सबै प्रयासलाई विफल पार्दै इन्टरलाई खेलमा कायम राखे ।

यता, इन्टरले पनि पोर्टाेविरुद्ध केही अवसर बनाएको थियो । फेडेरिको डिमार्को, डेन्जेल डम्फ्रिज, एडिन जेको र रोमेलु लुकाकुले पाएको अवसरलाई सदुपयोग गर्न सकेन । इन्ज्युरी समयको थप गरिएको सातौं मिनेटमा पोर्टाेका पेपे दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिए । इन्टर सन् २०११ मा जर्मन क्लब साल्केसँग समग्रमा ७–३ ले पराजित हुँदै क्वाटरफाइनलबाट बाहिरिएको थियो । यसपटक इन्टरले तिनै पोर्टाेलाई प्रि–क्वाटरफाइनबाटै पन्छाउन सफल भयो ।

हालान्डको कीर्तिमानी ह्याट्रिक

नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डको कीर्तिमानी ह्याट्रिकसँगै इंग्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको हो । प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा जर्मन क्लब आरबी लाइप्जिगमाथि ७–० को भारी अन्तरले तथा समग्रमा ८–१ को फराकिलो जितसँगै सिटीले अन्तिम आठमा स्थान पक्का गरेको हो ।

पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिएपनि सिटीले दोस्रो लेगमा ७–० को एकपक्षीय जित निकाल्न सफल भएको हो । घरेलु मैदानमा सिटीको एकपक्षीय जितमा हालान्डले ह्याट्रिकसहित पाँच गोल गरे । इल्केए गुन्डोगान र केभिन डि ब्रुएनाले पनि समान एक गोल गरे ।

इतिहाद स्टेडियममा मंगलबार राति भएको एकपक्षीय खेलमा घरेलु टोली सिटीले खेलको २२औं मिनेटमा हालान्डको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । बेन्जामिन हेनरिचले पेनाल्टी बक्सभित्र ह्यान्ड गर्न पुगेपछि रेफ्रीले भिएआरको सहायता लिदै सिटीलाई पेनाल्टी प्रदान गर्दा हालान्ड चुकेनन् ।

त्यसको दुई मिनेटपछि नै हालान्डले केभिन डि ब्रुएनाको पासमा गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा हालान्डले ह्याट्रिक पूरा गर्दा सिटी पहिलो हाफमा ३–० ले अघि बढ्यो ।

हालान्ड र सिटी यतिमै रोकिएन । लगातार गोल थपिरह्यो । ४९औं मिनेटमा इल्केए गुन्डोगानले ज्याक ग्रेलिसको पासमा गोल गरेपछि सिटी सहज जिततर्फ अघि बढ्यो । ५३औं मिनेटमा हालान्डले म्यानुएल एकान्जीको पासमा व्यक्तिगत चौथो तथा टोलीका लागि पाँचौं गोल गरे । खेलको ५७औं मिनेटमा हालान्डले एकान्जीकै पासमा व्यक्तिगत पाँचौं तथा टोलीका लागि छैटौं गोल गरेपछि सिटी फराकिलो जिततर्फ अग्रसर बन्यो । त्यसपछि इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा केभिन डि ब्रुएनाले रियाद महारेजको पासमा गोल गर्दै सिटीलाई ७–० को सानदार जित दिलाए ।

लाइप्जिगविरुद्ध पाँच गोल गरेसँगै हालान्ड च्याम्पियन्स लिगमा सबैभन्दा छिटो ३० गोल गर्ने र कान्छा खेलाडी बनेका छन् । त्यस्तै उनी च्याम्पियन्स लिगको एकै खेलमा पांच गोल गर्ने सबैभन्दा कान्छो खेलाडी समेत बनेका छन् । यसअघि अर्जेन्टिनाका लियोनेल मेसी र ब्राजिली लुइस एड्रियानोले एकै खेलमा पाँच गोल गर्ने कीर्तिमान राखेका थिए । २२ वर्षीय हालान्डले यो सिजनमा सबै प्रतियोगितामा गरी ३९ गोल गरिसकेका छन् । सिटीबाट एकै सिजन यति धेरै गोल गर्ने उनी एक्ला खेलाडी पनि बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्