श्रीखण्डपुरमा ८ करोडको विद्यालय भवन



काभ्रे।

धुलिखेल नगरपालिका वडा नम्बर ५ मा श्रीखण्डपुरमा ८ करोडको चार तल्लाको १६ कोठा रहेको विद्यालय भवन निर्माण भएको छ । श्रीखण्डपुर माध्यमिक विद्यालयमा भूकम्प पछिको पुनर्निर्माण कार्यक्रम अन्तर्गत उक्त भवन निर्माण गरिएको थियो । निर्माण सम्पन्न भएको भवन हस्तान्तरण सहित उद्घाटन भएको हो ।

‘धुलिखेलमा सञ्जीवनी नमुना विद्यालय सहित २४ वटा भवन निर्माण सम्पन्न भएका छन्’–धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो–‘धुलिखेललाई शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, वातावरण, गरिबी निवारण तथा बालमैत्री नगरका रुपमा स्थापित गर्ने गरी शिक्षामा लगानी गरिएको छ ।’ धुलिखेलमा रहेको वडा नम्बर ३ को पञ्चकन्या बाहेक सबै वडाका सबै विद्यालयहरु पुनर्निर्माण भएका छन् ।

 

 

पूर्वाधारका हिसाबले सम्पन्न विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि एमजिएमल विधि तथा दुवै माध्यमबाट अध्यापन र अन्य थप प्रयत्न गरिएको छ । निजी विद्यालय सामुदायिक विद्यालयमा र सामुदायिक विद्यालय सामुदायिकमा नै एकीकरण गरेर समेत गुणस्तरीयता कायम गर्ने अभियानमा नगरपालिकाले संविधानले प्रदत्त गरेको अधिकार अनुसार निःशुल्क र अनिवार्य शिक्षालाई स्नातक तहसम्म लागु गरेको नगर प्रमुख अशोक ब्याञ्जुले बताउनु भयो ।

धुलिखेल नगरपालिकाले धुलिखेल भित्रका सम्पूर्ण नागरिकहरुलाई स्नातक तहसम्मको अध्ययनका लागि निःशुल्क व्यवस्था गरेको छ भने जिल्लाबासीहरुका लागि धुलिखेलमा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

श्रीखण्डपुर माध्यमिक विद्यालयमा शिशु कक्षा देखि १२ सम्म अध्यापन हुन्छ । कक्षा ११ र १२ मा दिउसोको समयमा व्यवस्थापन संकायमा अध्ययन हुन्छ । ४ सय ५० विद्यार्थी रहेको विद्यालय पूर्वाधारबाट सम्पन्न भए लगत्तै गुणस्तरमा जोड दिने गरी योजना निर्माण गरेको प्रधानाध्यापक डिल्लीराम निरौलाले बताउनु भयो । निर्माण सम्पन्न भएको भवन निर्माण ब्यवसायीहरुले केन्द्रीय आयोजनाका प्रतिनिधि वासुदेव हुमागाईँलाई हस्तान्तरण गरेका थिए ।

केन्द्रीय आयोजनाका प्रतिनिधि हुमागाईँले शिक्षा समन्वय इकाई प्रतिनिधि बिन्दा भुर्तेललाई हस्तान्तरण गर्नु भएको थियो । भुर्तेलले नगर प्रमुख अशोक ब्याञ्जुलाई हस्तान्तरण गरिएको भवन उद्घाटन सहित वडा कार्यालय मार्फत विद्यालयलाई हस्तान्तरण गरिएको थियो । वडा अध्यक्ष प्रमोदसुन्दर श्रेष्ठले वडा भित्र रहेका सामुदायिक र निजी विद्यालयहरुको शैक्षिक गुणस्तरसँगै व्यवहारिक र जीवनोपयोगी शिक्षा उपलब्ध गराउने अभियानमा सक्रिय रहनु पर्ने बताउनु भयो ।

वडा नम्बर ३ का अध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक गणेश आचार्यले नगरपालिकाले शिक्षाको गुणस्तर, विद्यार्थीहरुलाई सिकाउने विधि र प्रक्रियाका साथै पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताउनु भयो । धुलिखेल भित्रका विद्यालयहरु पूर्वाधारले सम्पन्न भएकाले नगरपालिकाको अबको ध्यान नमुना विद्यालय निर्माण गरी बालबालिकाहरुको सिकाईलाई प्रभावकारी बनाउने रहेको आचार्यले बताउनु भयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अशोकचन्द्र गोपाल धुँजु श्रेष्ठले श्रीखण्डपुर माविको इतिहास र यसको व्यवस्थापकीय क्षमतालाई अझै प्रभावकारी बनाउने बताउनु भयो । श्रीखण्डपुरमा निर्माण भएको विद्यालयमा छात्रा र छात्रको शौचालय निर्माण गरिएको छ । नगर प्रमुख ब्याञ्जुले पुल, सडक कालोपत्रे, पुस्तकालय तथा श्रीखण्डपुरको पुरानो संरचनालाई कायम राखी पुनर्निर्माण गर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्