हल्दीबारीमा मोबाइलबाट विद्यालयको गतिविधि हेर्न पाइने 



भद्रपुर। 

शैक्षिक सुधार गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्य लिएर झापाको एक पालिकाले नेपालमा नै पहिलो पटक विद्यालय स्तरमा मोबाइल एप्स सञ्चालनमा ल्याएको छ ।

झापाको हल्दीबारी गाउँपालिकाले सोमबारबाट सो प्रविधि सञ्चालनमा ल्याएको हो ।

शिक्षामा व्यापक गुनासा आएपछि पालिकाले आर्थिक वर्ष ०७५।७६ बाट विद्यालयमा सीसी क्यामरा जडान शुरु गरेको थियो ।

पालिका भित्र रहेका १७ वटा सामुदायिक विद्यालयमा ०७९/८० सम्म २४ लाख ८८ हजार रुपैयाँको लागतमा क्यामरा जडान गरिएको जनाएको छ । क्यामरा जडान गरेपछि विद्यालयका अभिभावक लगायत सरोकारवालाले आफ्नो मोबाइलमा एप्स डाउनलोड गरेपछि हेर्न चाहेको विद्यालयको गतिविधि इन्टरनेटको सहायताले हेर्न मिल्ने पालिका सुचना तथा प्रविधि प्रमुख सूशील कँडरियाले बताउनुभयो ।

वडामा कार्यरत कम्प्युटर अपरेटर र पालिकाका प्रविधि प्रमुखले मोबाइलमा एप्सको व्यवस्थापन गरिदिने उहाँले जनाउनुभयो । पालिका भित्र ४० प्रतिशत मानिस स्मार्ट मोबाइल चलाउन सक्ने भएकोले यो प्रविधि उपयुक्त देखिएको उहाँको दाबी छ । नेट वर्कको विस्तार सबै क्षेत्रमा भइसकेकोले इच्छुक व्यक्तिले यसको भरपुर उपयोग गर्न सकिने उहाँको भनाइ छ ।

३२ हजार जनसङ्ख्या रहेको हल्दीबारीमा ५ हजार ५ सय ८१ जना विद्यार्थी सामुदायिक विद्यालयमा अध्ययनरत छन् । ९९ प्रतिशत साक्षर रहेको पालिकामा ८० प्रतिशत शिक्षित रहेको शिक्षा शाखाले जनाएको छ ।  त्यसैगरी ४९ प्रतिशत किसान रहेको पालिकामा ६५ प्रतिशतले मोबाइल चलाउन सक्ने जनाइएको छ ।

मोबाइल एप्स प्रयोगमा आएपछि विद्यालयको गतिविधि तुरुन्त जानकारी हुने पालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले जनाउनुभयो । विद्यालयको सुरक्षामामा वृद्धि,पालिकाबाट निरन्तर अनुगमनमा सहजता, अभिभावकले घरमा नै बसेर विद्यालयको गतिविधि नियाल्ने, भौतिक पूर्वाधारका बारेमा जानकारी हुने लगायतका महत्त्वपूर्ण काममा सहयोग पुग्ने उहाँले दाबी गर्नुभयो ।

शैक्षिकमा मात्र नभई अन्य क्षेत्रमा पनि पालिकाले प्रविधिमा फड्को मारेको उहाँको भनाइ छ । विद्यालय स्तरमा मोबाइल एप्सको सुरुवात गर्ने नेपालका पालिकामध्ये  हल्दीबारी  पहिलो  भएको उहाँले दाबी गर्नुभयो ।

मोबाइल एप्सको उद्घाटन गर्दै पूर्व मन्त्री राजेन्द्रप्रसाद लिङ्देनले नेताले कर्मचारी बिगारेको वताउँनुभयो । थोरै समय मन्त्री हुदाँको अनुभव सुनाउँदै उहाँले कर्मचारीले नियम पालना गरेपनि नेताका दबाबका कारण कर्मचारी चुक्नु परेको उहाँको भनाइ थियो ।  पदमा रहँदा केही महत्त्वपूर्ण कार्यक्रम गरिएको उल्लेख गर्दै समय आएपछि सार्वजनिक गरिने उहाँले जनाउनुभयो ।

सोही कार्यक्रममा राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगितामा प्रथम ,दोस्रो  र तेस्रो  हुने विद्यार्थी खेलाडीलाइ पुरस्कृत तथा सम्मान गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्