ब्राइट एन्जल्स् स्कुलको रजत जयन्ती



काठमाडौं ।

ब्राइट एन्जल्स् स्कुलले आफ्नो रजत जयन्ती तथा २६औं अभिभावक दिवस मनाएको छ । कोभिडका कारण रोकिएको रजत जयन्ती यसपटक मनाएको हो ।

चन्द्रागिरी नगरपालिकास्थित थानकोटमा अवस्थित उक्त स्कुलको रजत जयन्ती तथा २६औं अभिभावक दिवसको अवसरमा अघिल्ला तीन वर्षका एसईई उत्तीर्ण तथा कक्षा उत्तीर्ण विद्यार्थीलाई बिदाई तथा सम्मान गरिएको थियो ।

विद्यार्थीलाई स्कुलका प्रिन्सिपल गोविन्दबहादुर थापा, सञ्चालक समितिका अध्यक्ष माया भूसाल, प्रमुख अथिति प्राडा वेदराज आचार्य, अतिथि उपप्रध्यापक कुलचन्द्र आचार्यलगायतले पदक तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

सोही अवसरमा विगतमा विद्यालयमा कार्यरत रहेका शिक्षक तथा दीर्घसेवा गरेका शिक्षक तथा कर्मचारीलाई पनि सम्मान गरिएको थियो । दुई चरणमा विभाजित रजत जयन्ती तथा अभिभावक दिवसको पहिलो दिन प्राथमिक तहका विद्यार्थी र दोस्रो दिन निम्न माध्यमिक तथा माध्यमिक तहका विद्यार्थीले आफ्नो कला कौशल प्रस्तुत गरेका थिए ।

वि.सं. २०५३ सालमा ४५ जना विद्यार्थीबाट सुरु भएको उक्त विद्यालयमा हाल करिब १ हजार जना विद्यार्थी अध्ययनरत छन् । साथै, यसपटक १९औं ब्याजका विद्यार्थीले एसईई दिने तयारी गरिरहेका प्रिन्सिपल थापाले जानकारी दिनुभयो ।

संस्थागत विद्यालयहरूमध्ये ब्राइट एन्जल्स् स्कुल काठमाडौं पश्चिम भेगमा अग्रस्थानमा रहेको विद्यालय व्यवस्थापनको भनाइ छ । विद्यार्थीलाई किताबी ज्ञानका साथै व्यवहारिक शिक्षा र सीपसमेत सिकाउँदै आएको विद्यालयले जनाएको छ । आफ्ना विद्यार्थीले मार्शल आर्टस् खेलमा अन्तर्राष्ट्रिय पदकसमेत जित्न सफल भएको विद्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्