सगरहवामा गरिने मूर्ती कार्यशालाको समय परिवर्तन

0
Shares

बुटवल।

कपिलवस्तुमा आयोजना हुने राष्ट्रिय मूर्तिकला कार्यशाला आगामी चैत २३ गते पूर्णिमादेखि हुने गरी कार्यतालिका परिवर्तन गरिएको छ ।
यसअघि फागुन २३ गते पूर्णिका दिनदेखि ऐतिहासिक स्थल सगरहवामा कार्यशाला गर्ने तयारी गरिएको थियो ।

सगरहवा पुरातात्विक स्थल भएकाले त्यहाँ जियोफिजकल सर्भे गर्नुपर्ने, मूर्तिका लागि आवश्यक ढुङ्गा व्यवस्थापन गर्नुपर्ने तथा विद्युत् जस्ता अन्य प्राविधिक कामका लागि समय अपुग भएपछि कार्यशाला एक महिनापछाडि सारिएको हो ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईको अध्यक्षतामा कपिलवस्तुको सगरहवामा बिहीबार जनप्रतिनिधि सहित त्यस क्षेत्रका कार्यशाला सम्पन्न गर्न गठित समितिका संयोजकहरुको बैठकले चैत २३ गतदेखि कार्यशाला गर्ने गरी कार्यतालिका परिवर्तन गर्ने निर्णय गरेको हो ।

बैठकले व्यवस्थित रुपमा स्थानीयहरुको समेत सक्रिय सहभागितामा कार्यशाला सम्पन्न गर्ने गरी समयावधि  समेत तोकिएको छ । पुरातात्व विभागले सगरहवाको जियोफिजिकल सर्भे (जमिनमुनी पुरातात्व संरचना भएनभएको परीक्षण) गरेर प्रतिवेदन दिएपछि स्थान छनौट र ढुङ्गा व्यवस्थापनका लागि फागुन मसान्तसम्मको समय तोकिएको छ ।

विद्युत् व्यवस्थापन चैत पहिलो साता, चैत १७ भित्र कलाकारहरुको छनौट र मूर्तिको म्याकेट माग गर्ने निर्णय भएको छ । बैठकले कार्यशालालाई स्थानीयहरुको अपनत्वमा सम्पन्न गर्न ढुङ्गा व्यवस्थापन, विद्युत् व्यवस्थापन, सांस्कृतिक कार्यक्रम व्यवस्थापन, आमा समूह परिचालन जस्ता  उपसमितिहरु गठन गरिएको लुम्बिनी विकास कोष तिलौराकोट शाखा प्रमुख माधव प्रसाद आचार्यले जानकारी दिए । बैठकमा लुम्बिनी विकास कोषका कार्यकारिणी सदस्य विश्वराज पौडेल, परिषद् सदस्य गोपीकृष्ण शर्मा, कपिलवस्तु नगरपालिका वडा न. ९ का वडाअध्यक्ष दीपक गुरुङ, विज्ञ समितिका सदस्य गीता अन्जान केसी, प्राज्ञ गोविन्द प्रसाद चौधरी, पत्रकार भेषराज पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

कार्यशाला सम्पन्न गर्नका लागि माघ १६ गते सगरहवाका प्रतिनिधि, प्रदेशसभाका सांसद, कपिलवस्तु नगरपालिकाका जनप्रतिनिधि एवं स्थानीय सरोकारवालाहरुको उपस्थितिमा भेला गरिएको थियो ।