ज्योति मिर्मिरे सामूहिक सहकारीद्वारा २७१ जना ज्येष्ठ नागरिक सम्मानित

0
Shares

काभ्रे।

ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड पनौती ६ काभ्रेले संस्था एकीकरण पछिको दशौं एकीकरण दिवसको अवसरमा २ सय ७१ जना ज्येष्ठ नागरिकहरु सम्मान गरिएको छ । ज्येष्ठ नागरिकलाई दोसल्ला लगायतका सामाग्रीले सम्मान गरिएको थियो ।

राष्ट्रिय सहकारी विभागका रजिस्ट्रार नवराज घिमिरेले ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्दै समुदायमा आधारित सहकारीहरुमा समस्या नभएकाले सहकारी मार्फत मुलुकको समृद्धिको यात्रा तय गर्नु पर्ने बताउनु भयो । सहकारीको नियम अनुसार नचलेका सहकारीहरुमा समस्या देखिएको बताउँदै रजिस्ट्रार घिमिरेले केही समय यस्ता सहकारीमा संकट देखिए पनि सरकारले नियमन गरी कारबाही गरेर समुदायमा आधारित सहकारीहरुलाई स्थापित गराउन लागिपर्ने बताउनुभयो ।

कार्यक्रममा नेफ्सकुनका पूर्व अध्यक्ष एवं राष्ट्रिय सहकारी विकास बैकका संचालक डिबी बस्नेतले सहकारीमा केही बिचौलिया र सहकारीलाई ब्यवसायीक बनाउनेहरुले संकट निम्त्याएकाले त्यस्ता सहकारी र संचालकलाई कारबाही गरी सहकारीमा सुशासन कायम गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा संस्थाका अध्यक्ष उद्धव सापकोटाले समुदायमा आधारित सहकारी भएकाले शेयर सदस्यको आवश्यकता अनुसार कार्यक्रम गरिएको बताउनु भयो ।

एकीकरण दिवसको अवसरमा र बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म काठमाडौँ मेडिकल कलेज काठमाडौँको प्राविधिक सहयोगमा निःशुल्क बृहत् स्वास्थ्य शिविर एवं ज्येष्ठ नागरिक सम्मान कार्यक्रम आयोजना गरिएको प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले बताउनु भयो ।

शिविरमा स्त्री रोग, नसा रोग, नाक, कान घाँटी रोग, आँखा सम्बन्धी सम्पूर्ण परीक्षण तथा परामर्श, हाड जोर्नी तथा साधारण स्वास्थ्य परीक्षण, इसिजी, भिडियो एक्सरे, ल्याव टेस्ट गरिएको थियो ।

एकीकरण दिवसको अवसरमा १३ जना उत्कृष्ट बचतकर्ता र ऋणी सम्मानित भए । एसईई २०७८ मा उत्कृष्ट हुने शेयर सदस्यहरुका छोराछोरीहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संस्थाका कार्यवाहक अध्यक्ष सागर कपाली, सहकारी अभियन्ता डा. शिवजी सापकोटा, बागमती प्रोप्सकुनका प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहाल, विभिन्न सहकारीका अभियान्ताहरु सहभागी थिए ।

दिनप्रतिदिन सहकारी प्रति नागरिकहरुको अविश्वास बढिरहेका बेला ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्थामा सदस्यहरुको आर्कषण र विश्वास बढिरहेको छ । १५ हजार २ सय शेयर सदस्य रहेको उक्त सहकारीका ८ वटा सेवा केन्द्र छन् । बनेपा, पनौती, धुलिखेल, पाँचखाल, नमोबुद्ध, मण्डनदेउपुर र बेथान्चोक गाउँपालिकामा कार्यक्षेत्र रहेर कारोबार गरिरहेको सहकारीले १८ वटा शीर्षकमा बचत संकलन गरिरहेको छ भने १९ किसिमका ऋण प्रदान गरिरहेको छ ।

३ सय ६५ दिन सेवा प्रवाह गरिरहेको उक्त संस्थाले शेयर सदस्यहरुको हितका लागि प्रविधि मैत्री कारोबार सहित मोबाइल बैङ्किङ लगायतका सुविधा प्रदान गरिरहेको छ ।

बागमती प्रदेश सहकारीले उत्कृष्ट सहकारीका रुपमा सम्मान गरेको ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको माघ मसान्तसम्म १० करोड ६३ लाख ६७ हजार ५ सय शेयर पुँजी रहेको छ भने ७१ करोड ९३ लाख बचत गरेको छ । ८३ करोड ऋण लगानी गरेको संस्थाको १८ प्रतिशत तरलता रहेको प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले जानकारी दिनुभयो ।

एकीकरण दिवसको अवसमा आयोजित रक्तदान कार्यक्रममा बिहीबार ३८ जनाले रक्तदान गरेका थिए ।