सङ्कटा क्लब सेमिफाइनलमा प्रवेश 



भद्रपुर।

सङ्कटा क्लब काठमाडौँ झापाको भद्रपुरमा जारी प्रथम मुस्ताङ भद्रपुर झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आयोजक भद्रपुर ब्लेजर्सलाई १–० गोलले पराजित गर्दै सङ्कटा अन्तिम चारमा प्रवेश गरेको हो ।

मेची रङ्गशालामा मङ्गलबार भएको पहिलो क्वार्टर फाइनल खेलमा सङ्कटाका मनिष डाँगीले गरेको गोल नै निर्णायक भयो । उनले खेलको पाँचौँ मिनेटमा गोल गरेका थिए ।

घरेलु मैदानमा दर्शकको राम्रो साथ पाएको भद्रपुर ब्लेजर्सले आक्रामक खेल खेले पनि पराजित हुन पुग्यो । आयोजकले खेल अवधिभर दर्जन भन्दा बढी अवसर बनाउँदा पनि सदुपयोग गर्न सकेन ।

सुरुवातमै दबाबमा परेको आयोजक गोल गर्न चुक्दा क्वार्टर फाइनलबाटै बाहिरिनुपर्‍यो । आयोजक भद्रपुर ब्लेजर्सका दुई गोल बारमा ठोकिएर फर्कियो । पहिलो गोलपछि भने सङ्कटाले थप गोल गर्न सकेन । त्यसपछि सङ्कटाले रक्षात्मक खेल खेल्यो ।

प्लेयर अफ द म्याच चर्च सङ्कटाका गोलरक्षक टिकेन्द्रसिंह थापा घोषित भए । उनले नगद २० हजार पुरस्कार पाए । पुरस्कारको सौजन्य मनोज सुब्बा तथा परिवारले पिता वीरहाङ लिम्बूको स्मृतिमा गरेको हो ।

बुधवारको क्वार्टर फाइनल खेल चर्च ब्वाइज र गत वर्षको लिग विजेता मच्छिन्द्र क्लबबीच हुने आयोजक भद्रपुर झापा गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

गोल्ड कपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउने आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिनुभयो ।

प्रतियोगिताको प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २० हजार पाउनेछन् । उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदयमान खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, फाइनल खेलको पहिलो गोलकर्ता र प्रशिक्षकलाई २५ हजार दिइने आयोजकले जनाएको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ दिइने आयोजकले जानकारी दिएको छ ।

प्रथम भद्रपुर झापा गोल्डकपलाई चौधरी ग्रुपको मुस्ताङ बियरले मुख्य प्रायोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्