दोस्रो ‘अमरगढी हाफ म्याराथन’ दौड प्रतियोगितामा टेकेन्द्र र ज्योति प्रथम



डडेल्धुरा। 

डडेल्धुरा सदरमुकाममा सम्पन्न दोस्रो ‘अमरगढी हाफ म्याराथन’ दौड प्रतियोगितामा पुरुषतर्फ सिभिल तर्फका खेलाडी टेकेन्द्र चन्द र महिलातर्फ नेपाल आर्मीकी ज्योति रानाले प्रथम स्थान हासिल गर्नुभएको छ ।

रणबम गण, दह ब्यारेक डडेल्धुराको आयोजनामा शनिबार आयोजित दोस्रो संस्करणको अमरगढी हाफ म्याराथनमा पुरुषतर्फ सिभिलतर्फका टेकेन्द्र चन्दले एक घण्टा २५ मिनेट ५ सेकेन्ड र नेपाल आर्मीका ज्योति रानाले ३९ मिनेट ३७ सेकेन्डमा निर्धारित दुरी पार गरेर प्रथम स्थान हासिल गर्नु भएको हो । पुरुषतर्फ २१ किलोमिटर र महिलातर्फ १० किलोमिटर म्याराथन आयोजना गरिएको थियो ।

यस्तै, पुरुषतर्फ नेपाल आर्मीकै नरेशसिंह बोहराले दास्रो स्थान हासिल गर्नु भएको छ । उहाँले निर्धारित दुरी एक घण्टा २७ मिनेट १० सेकेन्डमा पार गर्नु भएको थियो । नेपाल आर्मीकै रामसिंह पालले तेस्रो स्थान हासिल गर्दा सिभिल तर्फका शुरिराम लुहारले सान्त्वना स्थान हासिल गर्नु भएको छ । पाल र लुहारले निर्धारित दुरी क्रमश: एक घण्टा २९ मिनेट २ सेकेन्ड र एक घण्टा २९ मिनेट ४० सेकेन्डमा पार गर्नु भएको थियो ।

यस्तै, महिलातर्फ नेपाल आर्मीकै सरिता बडालले दास्रो स्थान हासिल गर्नुभयो । उहाँले निर्धारित दुरी ५१ मिनेट १ सेकेन्डमा पार गर्नु भएको थियो । नेपाल आर्मीकी बिमला खड्काले तेस्रो स्थान हासिल गर्दा सिभिल तर्फका अनिता रावलले सान्त्वना स्थान हासिल गर्नुभयो । खड्का र रावलले निर्धारित दुरी क्रमश: ५१ मिनेट १९ सेकेन्ड र ५१ मिनेट ३१ सेकेन्डमा पार गर्नु भएको थियो ।

महाशिवरात्रि र सेना दिवसका अवसरमा ‘अमरगढी किल्ला संरक्षण तथा सम्बद्र्धन’ भन्ने नारासहित हाफ म्याराथन आयोजना गरिएको रणबम गण डडेल्धुराले जनाएको छ । अमरगढी नगरपालिका, अमरगढी किल्ला विकास समिति र जिल्ला खेलकुद विकास समितिसँगको सहकार्यमा उक्त प्रतियोगिता आयोजना गरिएको हो । म्याराथनमा महिला पुरुष गरि एक सय २० जनाको सहभागिता थियो । म्याराथनकै क्रममा आयोजना गरिएको वाकाथनमा ४० जनाको सहभागिता रहेको रणबम गण डडेल्धुराले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्