गिरिजा–टिका फाउण्डेशनद्वारा १० जना विद्यार्थीलाई छात्रवृत्ति वितरण



म्याग्दी ।

म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा सञ्चालित जनकल्याण माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण भएको छ । विद्यालयमा स्थापित गिरिजा–टिका फाउण्डेशनमार्फत विद्यालयका १० जना विद्यार्थीलाई छात्रवृत्ति रकम वितरण गरिएको हो ।

हिँजो (शुक्रवार) विद्यालयमा सम्पन्न जनकल्याण मावि अक्षयकोषको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनको अवसरमा छात्रवृत्ति वितरण गरिएको गिरिजा–टिका फाउण्डेशनले जनाएको छ । शैक्षिक सत्र २०७५ देखि २०७८ सालसम्म सञ्चालित एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने विद्यार्थीहरुलाई छात्रवृत्ति रकम वितरण गरिएको फाउण्डेशनका अध्यक्ष प्राध्यापक डाक्टर हेमराज सुवेदीले बताउनुभयो ।

२०७८ सालको परीक्षामा उत्कृष्ट अङ्क ल्याउने अंकिता थापालाई नगद छ हजार रुपैयाँ र लिलाबहादुर खत्रीलाई तीनहजार रुपैयाँ छात्रवृत्ति प्रदान गरी पुरस्कृत गरिएको फाउण्डेशनका अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।

यसैगरी २०७५ देखि २०७७ सालसम्म एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउनेहरु अर्जुन दर्जी, रितिका हमाल, अर्चना सुवेदी, विशाल किसान, निराजन बानियाँ, प्रकृति बानियाँ, गौरव हमाल र सलन दर्जीलाई जनही दुई हजार रुपैयाँको दरले छात्रवृत्तिस्वरुप रकम प्रदान गरिएको थियो ।

उत्कृष्ट अङ्क हासिल गर्ने विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि बेनी नगरपालिकाका प्रमुख सुरत केसी र फाउण्डेशनका अध्यक्ष सुवेदीले छात्रवृत्ति रकमसहित प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

उक्त कार्यक्रममा बेनी नगरपालिका–५, पुलाचौरका वडा अध्यक्ष गोविन्द बानियाँ, जनकल्याण मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल बानियाँ, अक्षयकोषका निवर्तमान अध्यक्ष रामप्रसाद सुवेदी, धनेश्वरी–तारानाथ स्मृति प्रतिष्ठानका सचिव माधवप्रसाद रेग्मी र विद्यालयका प्रधानाध्यापक कमलप्रसाद पौडेलको विशेष उपस्थिति रहेको थियो ।

प्रा.डा. सुवेदीले आफ्ना स्वर्गीय मातापिताको स्मृतिमा जनकल्याण मावि पुलाचौरमा २०७५ सालमा फाउण्डेशन स्थापना गर्नुभएको थियो ।

उक्त फाउण्डेशनमार्फत हरेक वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण भई पुलाचौरमा कक्षा ११ र १२ अध्ययन गरी उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरुलाई छात्रवृत्तिमार्फत प्रोत्साहन गरिँदै आएको छ । पुलाचौर निवासी प्रा.डा. सुवेदी हाल काठमाडौं बस्दै आउनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्