वातावरण सुधारमा ध्यान देऊ



जलवायुमा आएको परिर्वतनले अहिले विश्वलाई चिन्तित बनाएको छ । अहिले जलवायु परिर्वतनले पारेको असरका बारेमा विश्वभर चिन्ता र चासो व्यक्त गर्न थालिएको छ । पृथ्वीमा बढ्दै गएको तापमानलाई घटाउने विषयमा छलफल तीव्र रूपमा भएको पाइन्छ तर यसले अहिलेसम्म निकास पाउन सकेको छैन ।

जलवायु परिर्वतनले नेपाल पनि अछुतो रहन सकेको छैन । नेपालमा पनि यसको असर प्रत्यक्ष रूपमा देखा पर्न थालेको छ । वातावरणमा आएको परिर्वतनले नेपाल र नेपाली प्रभावित हुन थालेका छन् । नेपालमा जलवायुको प्रत्यक्ष प्रभाव परेको देखिन्छ । हरेक वर्ष हिउँदमा वर्षा हुने गरेको थियो तर यस वर्ष भने हिउँदे वर्षा नहुँदा मानव स्वस्थ्यमा गम्भीर असर परेको छ । मानव जीवनसँगै हिउँदे वर्षाबाट हुने बालीनालीसमेत प्रभावित भएको छ ।

यसले नेपालको अर्थतन्त्रमा समेत प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ । अर्थतन्त्रसँगै मानवजीवनमा समेत यसकोे असर देखिन्छ । नेपालमा वातावरण प्रदूषणकै कारण जाडो महिना नसकिँदै सरुवा रोग मौसमी रुघा, खोकी, ज्वरो, झाडापखाला, दादुराजस्ता रोगको प्रकोप बढ्दो क्रममा रहेको छ । साथै, वातावरण प्रदूषणका कारण देखिने श्वासप्रश्वासका बिरामीको चाप पनि बढ्दै गएको तथ्याङ्क सार्वजनिक भएको छ । यो चिन्ताको विषय हो । जलवायु परिवर्तनले निम्त्याउने रोगव्याधीका साथै धुवाँ, धुलोका कारण बढेकोे वातावरणीय प्रदूषणका कारण शहरी भेगमा बस्ने नेपालीहरू बढी प्रभावित भएका छन् ।

सरकारले जनतालाई स्वास्थ्यको विषयमा बेलाबखतमा सचेत गराउने गरेको भए पनि यसको न्यूनीकरणका लागि चाल्नुपर्ने कदम समयमा नै चाल्न नसक्दा रोगव्याधीका घटना बढ्दै गएका छन् । यसले सरोकारवाला निकाय जिम्मेवार छैन भन्ने देखाउँछ । राज्यले नागरिकलाई घरभित्र थुनेर समस्याको समाधान हुँदैन । वायु प्रदूषणले ल्याएको नकारात्मक प्रभावका विषयमा सरकार चनाखो हुनुका साथै हरेक व्यक्तिले पनि वायु प्रदूषणमा कमी आउने खालका सुरक्षा अपनाउनु जरुरी देखिन्छ ।

अस्पतालमा उपचारमा पुगेका बिरामीले समयमै सेवा पाउन सक्ने अवस्था छैन । यस्तो अवस्थाको अन्त्य गर्न सरकार चुक्नु हुँदैन । यससँगै सरकारले सरसफाई र वातावरण प्रदूषणलाई सुधार ल्याउन ठोस नीति तथा कार्यक्रम ल्याउन जरुरी देखिन्छ ।

सरकारले जति पनि नीति तथा योजना बनाएको छ त्यसलाई कार्यान्वयनमा ल्याउन जिम्मेवारी तोकेर कार्यविभाजन गर्नुपर्दछ । त्यसका लागि आवश्यक जनशक्ति, उपकरण, सञ्चालन, संरक्षण, सम्बद्र्धन गर्नेतर्फ पनि सरकारको ध्यान जान जरुरी देखिन्छ । सरकारले समयमा नै यस्ता विषयमा ध्यान नदिने हो भने जनताको स्वास्थ्यमा गम्भीर असर पर्ने देखिन्छ ।

वातावरण प्रदूषण नियन्त्रणका लागि आवश्यक कदम चालेर अघि बढ्नुको विकल्प देखिँदैन त्यसैले, यस्ता विषयलाई गम्भीर रूपमा लिएर वातावरण प्रदूषण नियन्त्रणका उपायहरू के के हुनसक्छन् त्यसतर्फ ध्यान दिनुपर्ने हुन्छ । अहिले अवस्था बिग्रिसकेको छैन त्यसैले यस्ता विषयमा सरकार समयमा नै गम्भीर हुन जरुरी छ ।

 

प्रतिक्रिया दिनुहोस्