टिजरमा प्रेमा



निर्देशक गोविन्दसिंह भण्डारीको लेखन तथा निर्देशनमा बनेको फिल्म प्रेमाको टिजर सार्वजनिक भएको छ।

टिजरमा फिल्मका प्रमुख तीन कलाकार अरुण क्षेत्री, सृष्टि श्रेष्ठ र शुभेक्षा खड्कालाई प्रस्तुत गरिएको छ। सुपरहिट सामाजिक फिल्म महापुरुषको डेब्यु अभिनयबाट प्रशंसा कमाएका अरुण फिल्ममा आकाशको भूमिकामा देखिएका छन्।

अरुणले शीर्ष चरित्र प्रेमा अर्थात् शुभेक्षालाई मन पराएको टिरजरमा देखाइएको छ। तर, शुभेक्षाले भने भित्रीरुपमा अरुणलाई मन पराए पनि बाहिरी रुपबाट भने वास्ता नगरेको देखाइएको छ।

अरुण र शुभेक्षाको संवादमा अरुणले प्रेमभाव व्यक्त गर्दा शुभेक्षाले केही रिस र केही खुसी मिश्रित अनुहार बनाएकी छन्। टिजरको अन्तिमतिर सृष्टिको आगमनबाट शुभेक्षा केही सशंकित देखिन्छिन्। किनकि, टिजरमा सृष्टिसँग अरुण र शुभेक्षाको भेट हुँदा शुभेक्षाले अरुणलाई तानेर लगेकी छन्।

टिजरमा शुभेक्षालाई साधारण र सुन्दर युवतीको रुपमा देखाइएको छ भने सृष्टिलाई बोल्ड र सहरीया भेषमा प्रस्तुत गरिएको छ।

टिजर यसको निर्माण संस्था बाघठाटा फिल्म फ्याक्टझीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। काठमाडौं, धनगढी र कर्णालीमा सुटिङ गरिएको फिल्ममा अरुण, शुभेक्षा र सृष्टिका अलावा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याध्रबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया (काजु)ले अभिनय गरेका छन् ।

आगामी चैत १७ रिलिज हुने फिल्म गोविन्दसिंह भण्डारी र विवेक घिमिरेले निर्माण गरेका हुन्। सामर्थविक्रम थापा कार्यकारी निर्माता रहेको फिल्ममा सुशान्त गौतमको संगीत, सुशान्त, सबिन एकतारे र अनिल शर्माको गीत र कृष्ण भण्डारीको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्