इन्टरपोलको क्षेत्रीय सम्मेलनमा सहभागी भएर महानिरीक्षक सिंह स्वदेश फिर्ता



काठमाडौं।

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह संयुक्त अरब इमिरेट्सको अबुधाबीमा २०७९ माघ २४ देखि २६ गतेसम्म संचालन भएको इन्टरपोलको २४औं एसियाली क्षेत्रीय सम्मेलनमा नेपालको तर्फबाट सहभागी भई आइतबार स्वदेश फर्कनु भएको छ ।

प्रहरी महानिरीक्षक सिंहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले हार्दिक स्वागत गर्नुभयो ।

विमानस्थलमा कुराकानी गर्दै प्रहरी महानिरीक्षक सिंहले उक्त सम्मेलनमा एसियाली राष्ट्रका प्रहरी संगठन मजबुत बनाउने र इन्टरपोललाई थप सक्रिय बनाउने विषयमा छलफल भएको बताउँदै एसियाली देशहरुबाट आतंकवाद निर्मूल पार्ने, मानव बेचबिखन नियन्त्रण तथा पछिल्लो समयमा विश्वव्यापी समस्याको रुपमा देखापरेको साइबर अपराध र साइबर सुरक्षामा एकतावद्ध भएर प्रभावकारी तरिकाले कसरी काम गर्ने सकिन्छ भन्ने विषयमा समेत छलफल भएको बताउनुभयो । कुनै पनि अपराधी अर्को देशमा गएर लुक्न नपाओस् भन्ने विषयमा समेत सम्मेलनमा सदस्य राष्ट्रहरुले जोड दिएको उहाँले जानकारी दिनुभयो ।

इन्टरपोल स्थापना भएको सय वर्ष पूरा भएको अवसरमा सदस्य राष्ट्रले यसलाई विशेष रुपमा मनाउने निर्णय गरिएको र नेपाल सयौं सदस्य राष्ट्र समेत भएकोले सोही अवसरमा नेपाल प्रहरीले आइजिपी रनिङ शील्ड फुटबल प्रतियोगिता आयोजना गरिसकेको बताउँदै प्रहरी महानिरीक्षक सिंहले आगामी दिनमा अन्य विविध कार्यक्रम आयोजना गरिने समेत बताउनुभयो ।

हाल इन्टरपोलको प्रतिनिधित्व गर्दै नेपाल प्रहरीका दुई जना अधिकृतहरु सिंगापुर र लियोनमा कार्यरत रहेकोले यो नेपाल प्रहरीकै लागि गौरवको विषय भएको बताउँदै महानिरीक्षक सिंहले नेपाल प्रहरी इन्टरपोलको सदस्य भएकै कारण गल्फ लगायत विभिन्न देशमा लुकेर रहेका अभियुक्तहरुलाई इन्टरपोलको सहायताबाट पक्राउ गरेर ल्याउन सफल भएको समेत सो अवसरमा स्मरण गर्नुभयो ।

सम्मेलनको दौरानमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले इन्टरपोलका अध्यक्ष मेजर जनरल अहमद नासिर अल-रइसी र महासचिव जर्गन स्कटलगायत इन्टरपोलका पदाधिकारीहरुसँग भेटघाट गर्नुभएको थियो । भेटको क्रममा नेपालले इन्टरपोलको सदस्य राष्ट्रको रुपमा देखाएको सक्रियताको प्रशंसा भएको र नेपाल प्रहरीका अधिकृतहरुको क्षमता अभिबृद्धिको लागि विभिन्न तालिममा सहभागी गराउने विषयमा छलफल भएको बताउनुभयो । साथै सम्मेलनको क्रममा अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन भारत, चीन र दक्षिण कोरियालगायतका मुलुकका प्रहरी प्रमुखसँग छुट्टाछुट्टै भेटवार्ता एवम् औपचारिक र अनौपचारिक छलफल समेत निकै फलदायी भएको उहाँले उल्लेख गर्नुभयो ।

नेशनल सेन्ट्रल ब्यूरो (एनसिबि) काठमाडौं नेपालका प्रमुख समेत रहनुभएका प्रहरी महानिरीक्षक सिंहको नेतृत्वमा नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका प्रहरी उपरीक्षक अनुपम शमशेर जबरा समेत उक्त सम्मेलनमा सहभागी हुनुभएको थियो ।

त्रिदिवसीय उक्त सम्मेलनमा एसियाली मुलुकका प्रहरी प्रमुखहरू, इन्टरपोलका प्रतिनिधि मण्डल तथा विभिन्न सरोकारवाला निकायहरुबीच आर्थिक अपराध, मानव बेचबिखन, साइबर अपराध र आतंकवाद जस्ता अन्तरदेशीय अपराधहरुको नियन्त्रणका लागि आवश्यक प्रहरी समन्वय लगायतका विषयहरुमा बृहत छलफल भएको थियो ।

यस अघि इन्टरपोलको २३औँ एसियाली सम्मेलन सन् २०१७ मा काठमाडौंमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्