रत्नेचौरमा तोरीले पर्यटक आगमन बढ्यो (तस्बिरसहित)



म्याग्दी ।

बेनी–बागलुङ सडकखण्डको बीचमा पर्ने रत्नेचौरको भाइरल तोरीबारीको कारणले गर्दा पर्यटक आगमन बढ्दै गएको छ । म्याग्दीको बेनी नगरपालिका–१, मा पर्ने रत्नेचौरको खेतबारीमा स्थानीयवासीले लगाएको तोरी फुलेर पहेँलै भएपछि पछिल्लोपटक रत्नेचौरमा पर्यटक आगमनमा वृद्धि हुन थालेको हो ।

समुन्द्री सतहदेखि ७ सय ९२ मिटरको उचाइमा रहेको रत्नेचौरको खेतबारीमा लगाएको तोरी फुलेर अहिले रत्नेचौर गाउँ नै पहेँलपुर बनेको छ । तोरीले पहेँलै तथा गहुँ र केराउले हरियाली छाएपछि यतिबेला रत्नेचौर निकै सुन्दर, आकर्षक र मनमोहक देखिएको छ । रत्नेचौरमा तोरी फुलेपछि दैनिकजसो तोरीबारीमा फोटो, भिडियो र सेल्फी खिच्ने र टिकटक बनाउनेहरुको भीड लाग्ने गरेको छ ।

रत्नेचौरमा तोरी फुलेको खेतका फाँट र बारीमा कालोपत्रे गरिएको चिल्लो सडकमा मानिसहरुको भीडभाड हुने गर्दछ । रत्नेचौरको फाँटमा गहुँ र तोरी झुलिरहेको छ भने झुलिरहेको गहुँ र तोरीको सौन्दर्यमा स–साना बालबालिका, युवायुवतीदेखि बुढाबुढीसम्म भुलिरहेका छन् । तोरी फुलेर पहेँलै भएको रत्नेचौरको बारेमा सञ्चारमाध्यममा समाचार, स्टोरी प्रकाशन तथा प्रसारण र सामाजिक सञ्जाल टिकटक एवं फेसबुकमा फोटो भिडियोमार्फत प्रचारप्रसार हुन थालेपछि पछिल्लो समय रत्नेचौरको तोरीबारी भाइरल बनेको हो ।

अहिले तोरी फूलेर पहेँलपुर बनेपछि रत्नेचौरको तोरी बारीमा पुगेर फोटो, भिडियो खिच्ने र रमाउने युवायुवतीहरुको भीड बढ्दै गएको स्थानीयले बताएका छन् । रत्नेचौरबाट संसारको सातौं अग्लो ८ हजार १ सय ६७ मिटर उचाइको चुचुरो धौलागिरी हिमाल देखिन्छ । तोरी फूलेर पहेँलै बनेको रत्नेचौरमा खेतको बीच सडकमा कालोपत्रे गरिएपछि देखिएको चिल्लो सडकले रौनकता थपिदिएको छ । अहिले रत्नैचोरवासीले पोहोरको तुलनामा थोरै मात्रामा तोरीको खेती गरेको भए पनि रत्नेचौर क्षेत्र भ्रमण गर्नेहरुको भने आकर्षण बढेको छ । तोरीकै कारणले गर्दा भाइरल बनेको रत्नैचौर पर्यटकीय गन्तव्य बन्दै गएको हो ।

रत्नेचौर क्षेत्र र तोरीबारीको भ्रमणमा म्याग्दीसहित बागलुङ, पर्वत, मुस्ताङको विभिन्न स्थानका साथै पोखरा, काठमाडौं, चितवन, भैरहवालगायत जिल्ला र ठाउँबाट पर्यटकहरु आउने गरेको स्थानीय भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक भरत खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘अलि अस्ति मैले मुस्ताङको पनि आएको देखेँ । काठमाडौं, पोखरादेखि जो यहाँबाट बसाई सरेर जानुभएको छ । उहाँहरुको सम्पर्कमा पोखरादेखि काठमाडौंसम्म, भैरहवादेखि चितवनबाट पनि यहाँ आएर रत्नेचौरको बारेमा सञ्चारमाध्यममार्फत विश्वभरी नै प्रचार भयो, त्यतिबेलादेखि नै धेरै टाढा टाढाबाट पनि यहाँ पर्यटक आउने काम भैरहेको अवस्था छ ।’

रत्नेचौरमा अहिले दैनिकजसो पर्यटकहरु घुम्न जाने गरेका छन् भने विदाको दिन र शनिवार बिहानदेखि बेलुकासम्म सयौंको संख्यामा पर्यटकहरु पुग्छन् ।

पहेँलपुर फुलेको रत्नेचौर पुग्ने पर्यटकहरु फोटो, भिडियो र सेल्फी खिच्ने तथा टिकटक बनाएर रमाउने गर्दछन् । वरिपरीको हरियाली तथा मुसुक्क मुस्कुराइरहेको धौलागिरि हिमालको दृश्य र पहेँलपुर तोरीले रत्नेचौरको पर्यटन प्रवद्र्धनमा सघाएको छ । रत्नेचौरमा कुल ८ सय ५० घरधुरी रहेकोमा त्यसमध्ये आधा जतिले तोरी लगाउने गरेका छन् ।

तोरीले भाइरल बनेको रत्नेचौरमा पर्यटकहरुको भीड बढ्न थालेपछि स्थानीयको व्यापार, व्यवसायमा पनि सहयोग पुगेको छ । पछिल्लोपटक रत्नेचौर क्षेत्रमा सानादेखि ठूला होटल तथा रेष्टुरेण्टहरु खुल्ने क्रम जारी छ । यसका साथै म्याग्दीको रत्नेचौर र छिमेकी जिल्ला बागलुङलाई जोड्ने रत्नेचौर–कुँडुले तीनसय ८८ मिटर लामो झोलुङ्गे पुल निर्माण भएपछि पुलमा रमाउने पर्यटकहरु पनि बढेका छन् । रत्नेचौरको भाइरल तोरीबारीमा पुगेर मोबाइलमा फोटो, भिडियो र सेल्फी खिचेर तथा टिकटक बनाएर रमाउनुका साथै सामाजिक सञ्जालमा पोष्ट गर्न पाउँदा आफूलाई निकै खुसी लागेको आन्तरिक पर्यटक अस्मिता भण्डारीले अनुभव सुनाउनुभयो ।

तोरीको कारण पछिल्लोपटक आन्तरिक पर्यटकहरुको चहलपहल बढेको रत्नेचौरमा धेरै पहिलेदेखि नै तोरी उत्पादन हुँदै आएको थियो । समथर भू–भाग रहेको रत्नेचौरमा अहिलको तुलनामा दोब्बर तोरी उत्पादन गर्न सकिने किसानहरु बताउँछन् । रत्नेचौरमा तोरीकै कारण पर्यटक आगमन बढ्नुका साथै प्रचारप्रसार भएकाले आउँदो वर्ष ‘तोरी–महोत्सव’ आयोजना गरिने रत्नेचौरका वडा अध्यक्ष टेकबहादुर थापाले जानकारी दिनुभयो ।

व्यावसायिक रुपमा मौरीपालन तथा मह उत्पादनका लागि उपयुक्त मानिने तोरीको सागलाई गाउँघरमा तरकारीको रुपमा समेत प्रयोग गर्ने गरिन्छ । ग्रामीण भेगमा फुलेको तोरीले गाउँको सुन्दरतामा निखारपन ल्याउने गर्दछ । मिलमा पिँधेर बनाइने तोरीको तेल तथा त्यसबाट निस्कने पिनालाई मानिसको कपालमा पर्ने चायाँ हटाउन प्रयोग गरिन्छ । नेपालमा पाइने दुई रङको तोरीमध्ये हिमाली जिल्ला म्याग्दीको गाउँमा पहेँलो रङको तोरीको खेती अत्यधिक हुने गरेको छ । पहेँलो तोरीमा २५ देखि ३० प्रतिशतसम्म तेलको मात्रा हुने कृषि प्राविधिकहरु बताउँछन् । तेलहन बालीअन्तर्गत पर्ने तोरी ३ महिनाको अवधिमै पाक्छ ।

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्