सल्यान।
सल्यानमा संघ र प्रदेश सरकारबाट सञ्चालन भएका सडक र पुलका अधिकांश योजना अलपत्र परेका छन् । सङ्घीय सरकार अन्तर्गत सडक डिभिजन कार्यालय र प्रदेश सरकार अन्तर्गत पूर्वाधार कार्यालयबाट सञ्चालन भएका अधिकांश योजना अलपत्र परेका हुन ।
सरकारी निकायको लापरबाही र ठेकेदारको ढिलासुस्तीका कारण वर्षौदेखिका योजना अलपत्र परेपछि नागरिकलाई सास्ती हुने गरेको छ । सडक डिभिजन कार्यालयबाट आर्थिक वर्ष २०७३∕७४ मा संघ सरकारको ६ करोड ८० लाख लागतमा जिल्लाको छत्रेश्वरी गाउँपालिका–६ र ७ जोड्ने शारदा नदीमाथिको पुल बनाउन सुरु भयो । ठेक्का पाएको एसबी/सूर्य जेभीले अहिले उक्त पुल अलपत्र छोडेको छ । ४ पटक म्याद थप हुँदासमेत पुल निर्माण नभएको छत्रेश्वरी गाउँपालिका ७ का वीर बहादुर बुढाथोकीले बताउनु भयो । लामो समय सम्म पनि पुल निर्माण हुन नसक्दा नदी वारपार गर्न समस्या भएको उहाँले बताउनु भयो ।
यस्तै शारदा नगरपालिकाको श्रीनगरबाट स्यानीखाल जोड्ने शारदा नदीमाथिकै पक्की पुल बनाउन ९ करोड रुपैयाँमा जलजला/जयमा/स्वर्गद्वारी निर्माण कम्पनीले काम गर्ने जिम्मा लिएको छ । कडा चट्टानमा प्वाल पार्न नसकिएको भन्दै यो काम पनि अलपत्र परेको शारदा नगरपालिका १५ स्यालपानीकी हिराकुमारी कुँवरले बताउनु भयो । पुल निर्माण नहुँदा श्रीनगर बजार पुग्न ५ मिनेट लाग्ने बाटोमा आधा घण्टा समय लाग्ने बताउनु भयो ।
सल्यानमा संघीय सरकारअन्तर्गत सडक डिभिजन कार्यालयबाट भएका २ वटा पक्की र २५ वटा सहित २७ वटा ठेक्का रहेकोमा अधिकांश अलपत्र बनेका छन् । प्रदेश सरकारबाट सञ्चालनमा रहेका पक्की पुल र सडकका काम पनि अलपत्र छन् । ठेकदारको लापरबाहीलाई सरोकारवाला निकायले बेवास्ता गर्दा यी योजना अपुरै हुने गरेको शिक्षक सुलेमान सुनारले बताउनु भयो । ठेक्काको काम अलपत्र पर्दा सामान्य नागरिकको सास्तीप्रति कोही जिम्मेवार नभएको उहाँले बताउनु भयो । समयमै योजना सम्पन्न नहुँदा एकातिर जिल्लाको विकास गति जस्ताको तस्तै छ भने अर्कोतिर जनता लाभ लिनबाट वञ्चित उहाँले बताउनु भयो ।
विभागबाटै म्याद थप भइरने भएकाले ठेकेदारलाई ताकेता मात्र गर्नसक्ने र कारबाही गर्न नमिल्ने सडक डिभिजन कार्यालयले दाङले जानकारी दिएको छ । ठेकेदारलाई पटक पटक ताकेता गर्दा पनि अटरी गर्ने गरेको कार्यालयको सूचना अधिकारी रिकेश महर्जनले बताउनु भयो । यता पूर्वाधार कार्यालय सल्यानले भने केही समय कार्यालय प्रमुखविहीन भएकाले प्रदेशस्तरीय योजनाका काममा ढिलाइ भएको निमित्त कार्यालय प्रमुख इन्जिनियर रुप बहादुर रावतले बताउनु भयो । उहाँले रोकिएका योजना केही सुरु भैसकेको र केही सुरु गर्ने प्रक्रियामा रहेको बताउनु भयो ।











प्रतिक्रिया