बुटवल।
कामको लागि ठेक्का लिने तर काम भने सम्पन्न नगर्ने रुपन्देही र नवलपरासीका दर्जन बढी निर्माण व्यवसायी कारबाहीमा पर्ने भएका छन् ।
सडक पूर्वाधार विकास कार्यालय रुपन्देहीले विभिन्न १५ वटा निर्माण कम्पनीलाई चेतावनी सहित काम सुरु गर्न सार्वजनिक सूचना जारी गरेको भएपनि सो अवधिमा समेत निर्माण कम्पनीहरु सम्पर्कमा नआएकाले पुन अर्को सूचना जारी गरी कारबाही गर्ने तयारी गरेको कार्यालयले जनाएको छ ।
रुपन्देही र नवलपरासी जिल्लाका विभिन्न स्थानका सडक पूर्वाधार निर्माण कार्यको ठेक्का लिएका निर्माण कम्पनीले काम नगरिदिँदा कारबाही गर्न बाध्य हुन परेको सडक पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजनल ललित बहादुर न्यौपानेले बताउनु भयो ।

लुम्बिनी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय यातायात पूर्वाधार निर्देशनालय अन्तरगतको सडक पूर्वाधार विकास कार्यालयबाट नवलपरासी र रुपन्देहीमा साना ठुला गरी ४ सय २५ वटा सडक आयोजना निर्माणाधीन अवस्थामा रहेका छन् । गत आर्थिक वर्षमा २ अर्ब ३५ करोड रुपैयाँ विनियोजन भएकोमा चालु आर्थिक वर्षमा भने १ अर्ब ९६ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।
ठेक्का लिएको तर बर्षाैसम्म काम सम्पन्न नगर्दा केही आयोजना अलपत्र सरह भएका छन् । बेलामा आयोजना निर्माण सम्पन्न नहुँदा स्थानीय जनताले सास्ती बेहोर्न परेको हुँदा कार्यालयले निर्माण व्यवसायीलाई ताकेता गरेको हो । तर पनि व्यवसायीले अझै आलटाल गरेर काम सम्पन्न गर्नका लागि बेवास्ता समेत गर्दै आएका छन् । निर्माण व्यवसायीले ठेक्का लिए पछि विभिन्न बहाना बनाउँदै काममा ढिलाइ गर्ने गरेको कार्यालय प्रमुख न्यौपानेको कथन छ ।
कार्यालयले कारबाहीको प्रक्रियामा राखेका निर्माण व्यवसायीका १५ वटा आयोजना मध्ये ६ वटा नवलपरासी र ९ वटा रुपन्देहीका रहेका छन् । जस्मा नवलपरासीका आयोजनाको ठेक्का लिएका निर्माण कम्पनीमा नवीन कन्स्ट्रक्सन बर्दघाट १३ ,महेश नवीन जेभि ,हिम सगरमाथा महेश नवीन जेभि , महेश इन्जिनियरिङ तथा विल्डर्स प्रालि , सुगम ओम इन्फास्क्ट्रचर जेभि र लि.वि.निर्माण सेवा कुश्मा ४ पाल्हीनन्दन रहेका छन् ।
त्यस्तै रुपन्देहीका आयोजना ठेक्का लिएका निर्माण कम्पनीमा केएस के प्रवतीया जेभी सुखेत, बज्रगुरु काठमाडौँ, एम एस शर्मा रामु काठमाडौँ, ओम सुगम सगुन जेभी ललितपुर, रमन ओम इन्फास्क्ट्रचर ललितपुर, एमएस वल्डवाईड ओम बुद्ध जेभी काठमाडौँ,दुविजी निर्माण सेवा रुपन्देही,बन्दन भगवती महेश सत्यवती जेभी रुपन्देही कारबाहीको लिस्टमा रहेका छन् ।
यी निर्माण व्यवसायीलाई तोकिएको समय सीमा भित्र कार्य सम्पन्न गर्न पटक पटक मौखिक तथा लिखित रुपमा जानकारी गराउँदा पनि लामो समय देखी निर्माण कार्य सम्पन्न गर्न गराउने तर्फ कुनै अग्रसरता नदेखाएकाको कार्य तालिका अनुसार अपेक्षित प्रगति हासिल नगरेकोले सार्वजनिक खरिद ऐन २०६३,सार्वजनिक खरिद नियमावली २०६४ तथा सो कार्यालयसँग भएको सम्झौता बमोजिम किन कारबाही नगर्ने भन्दै कार्यालय प्रमुख न्यौपानेले एक महिना भित्र कारबाही गरी ठेक्का बर्दर गर्ने चेतावनी समेत दिनु भएको छ । निर्माण व्यवसायीले समयमा काम नगर्ने राष्ट्रिय रोग नै बनिसकेकोले यस्ता व्यवसायीलाई समयमै ठेगान लगाउन जरुरी छ । निर्माण व्यवसायीबाट हुने ढिलाइले जनता र सरकार दुबैलाई समस्या भएको छ भने समयमा आयोजना सम्पन्न नहुँदा जनताले धुलाम्य र हिलाम्य सडकमा यात्रा गर्दा निकै समस्या भोग्न बाध्य भएको तर्फ सरोकारवाला निकाय गम्भीर हुन जरुरी देखिन्छ ।











प्रतिक्रिया