सल्यानमा मापदण्ड विपरीतका सबै क्रसर उद्योग बन्द



 सल्यान।

सल्यानमा मापदण्ड विपरीत रहेका सबै क्रसर उद्योगहरु बन्द भएका छन् । जिल्ला प्रशासन कार्यालय सल्यानले जिल्लामा मापदण्ड विपरीत रहेका पाँच वटा क्रसर उद्योग र एक बालुवा प्रशोधन केन्द्र बन्द गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले दर्ता विना रहेका क्रसर उद्योग र दर्ता भएर नवीकरण नगरेको बालुवा प्रशोधन केन्द्र बन्द भएको जानकारी दिनुभएको छ ।

उहाँका अनुसार क्रसर उद्योग अन्तर्गत चालु रहेका सिंह एण्ड ब्रोदर हमाल जीवी कम्पनी–कालाखेत, कालिका प्यासिफिक ज्वाईन्ट भेन्चर–कालीमाटी, पिके निर्माण सेवा प्रालि–शारदा, बेचालु अवस्थामा रहेको खड्का पिएस निर्माण सेवा–कुसाख र निर्माणाधीन अवस्थामा रहेको जाभा धुलिखेल जेबी कम्पनी मिनी क्रसर उद्योग–बन्गाड बन्द भएका हुन् । यस्तै ढुंगिवगरमा रहेको बागेश्वरी एग्रीग्रेड बालुवा प्रशोधन केन्द्र दर्ता गरेको भएपनि नवीकरण नहुँदा बन्द भएको हो ।
प्रचलित कानुन र मापदण्ड विपरीत अनुमति नलिई, दर्ता तथा नवीकरण नगरी सञ्चालनमा रहेका ढुङ्गा, गिट्टी तथा उत्खनन्, प्रशोधन कार्यमा संलग्न रहेका क्रसर उद्योग र विभिन्न आयोजना विकास तथा निर्माणको प्रयोजनका लागि सञ्चालित भएका तर, आयोजना समाप्तिपछि पनि सञ्चालनमै रहेका उद्योग तत्काल बन्द गरिएको बताउनु भयो ।

क्रसर उद्योगहरु बन्द हुँदा तोकिएको समयमा नै पूर्वाधार निर्माणका काम सम्पन्न गर्न समस्या हुने निर्माण व्यवसायीहरूले बताएका छन् । कच्चा पदार्थ उत्पादन गर्ने क्रसर उद्योग नै बन्द हुँदा सडक, पुल, भवन लगायतका पूर्वाधार निर्माणका काम सम्पन्न गर्न समस्या भएको व्यवसायीहरूले बताएका हुन् ।
निर्माण व्यवसायी लक्ष्मण हमालले निर्माण सामाग्री विना नै पूर्वाधार निर्माणका काम सञ्चालन गर्न समस्या भएको बताउनुभएको छ । जसका कारण राप्ती राजमार्गको चोरखोला देखी खौला सम्म सडकको मर्मत सम्भार तथा पिचको जिम्मेवारी लिएका करिब एक दर्जन निर्माण व्यवसायीका साथै अन्य पूर्वाधार निर्माणका काम सञ्चालन गदै आएका निर्माण व्यवसायीलाई समस्या भएको उहाँको भनाइ छ ।

उहाँले अहिले निर्माण सामाग्री संकलन गर्ने र फागुन लागेपछि सडक पिचको काम अगाडी बढाउने योजना भएपछि क्रसर उद्योग बन्द हुँदा समस्या भएको बताउनुभयो । ‘जिल्लामा सबै मापदण्ड पुरा गरेर क्रसर उद्योग सञ्चालन गर्न समस्या नै छ, तर क्रसर उद्योग सञ्चालन नहुँदा विकास निर्माणका कार्यमा असर पर्छ’ उहाँले भन्नुभयो । क्रसर उद्योग बन्द हुँदा सबै निर्माण व्यवसायी मर्कामा परेको उहाँको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्