मुगुमा पहिलोपटक हिमपात



मुगु ।

मुगुमा यो वर्षकै पहिलो हिमपात भएको छ । सोमबार मध्याह्नदेखि मौसममा बदली भइ रातिबाट हिमपात भएको हो ।
विगतका वर्षमा पुस लाग्ने बित्तिकै मुग हिउँले सेताम्य हुने गर्थ्यो भने यो पटक माघ लागेपछि हिमपात हुँदा रारा कपासझैं सेताम्य देखिएको छ ।

ठूलो वर्षा नभइ रातिबाट मुगुको रारामा समेत एक्कासि हिमपात भएको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका रेन्जर जयहरि धितालले बताए । रारामा ५ इन्चभन्दा बढी हिउँ जमिसकेको र अझै आउने क्रम जारी रहेको उनको भनाइ छ ।

मुगुमा हिमपात भएपछि घुम्न गएका पर्यटक निकुञ्जका कर्मचारी, नेपाली सेनाका जवानहरु हिउँमा रमाउन थालेका छन् । रारा विमानस्थल ताल्च, मुर्मा गाउँ, कोटिला, झयारी, ताल्च, माथितुम, बाम, सोभा लगायत बस्तीमा पनि हिमपात भएको छ ।

माघ ६ गते सोरुकोट, माथिल्लो मुगु क्षेत्रमा हल्का हिमपात भएको थियो भने यो पटक रारा क्षेत्र लगायत स्थानमा हिमपात भएको छ ।
माथिल्लो लेकली क्षेत्रमा हिमपात भएको छ भने बेसीतर्फ झरी परिरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । गत असोज १९ गतेदेखि वर्षात नभएको मुगुमा माघ लागेपछि हिमपात वर्षा सुरु हुँदा किसानहरु उत्साहित भएका छन् ।

सोमबार रातिबाट हुम्लाको माथिल्लो क्षेत्र सिमकोट, बरगाउँ, बुराउसे, डाडाफया र नाम्खा गाउँपालिका क्षेत्रमा भारी हिमपात भएको छ ।
जुम्ला सिंजा क्षेत्रको कनका सुन्दरी गाउँपालिकाको क्षेत्रमा पनि रातिदेखि हिमपात भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्