राष्ट्रिय सेवा दलमा विद्यार्थीको आकर्षण

बेलर स्कुलको सिनियर डिभिजनको उत्कृष्ट प्रदर्शनी



काभ्रे।

‘राष्ट्रिय एकता’को भावना जगाउन काभ्रेपलाञ्चोकका विभिन्न विद्यालयमा राष्ट्रिय सेवा दल गठन गरिएको छ । नेपाली सेनाद्वारा बालबालिकामा विद्यालयस्तरबाटै राष्ट्रिय भावना जागृत गर्न, अनुशासन, बफादारिता, इमानदारिता र नेतृत्व गर्ने बानीको विकास गर्ने उद्देश्यले सेनाले गठन गरेको सेवा दलमा विद्यार्थीहरुको आकर्षण बढेको छ ।

बनेपामा रहेको बेलर इन्टरनेशनल स्कुलमा गठन भएको सिसम १७ सिनियर डिभिजन अन्तर्गतको टोलीले सेवा दल गठन पश्चात् प्राप्त गरेको सिप र क्षमता प्रदर्शनी गरेका छन् । ‘नेपाली सेनाको उद्देश्य अनुसार विद्यार्थीहरुले सेवा दलमा आबद्ध भई प्राप्त गरेको सिपले विद्यार्थीहरुलाई थप क्षमतावान बनाएको छ’–कालीजंग गणका गणपति प्रमुख सेनानी प्रकाशबहादुर सिंहले भन्नुभयो–‘प्राप्त ज्ञान र सिपलाई ब्यवहारमा प्रयोग गर्न सकिएको अवस्थामा समुदायमा थप योगदान पुग्न सक्छ ।’ विद्यार्थीहरुले प्रस्तुत गरेको प्रदर्शनीले हौसला प्राप्त भएको प्रमुख सेनानी सिंहले बताउनु भयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोला थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले तालिममा सिकेका सिपहरुको प्रदर्शनीसँगै बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा र त्यस क्रममा प्रयोग हुने धिमे नाच, लाखे नाच, रथ यात्रा लगायतका देशभक्ति गीतहरूमा नृत्य प्रस्तुत गरेका थिए । राष्ट्रिय सेवा दल कमाण्डर प्रगति हमालको निर्देशनात्मक प्रस्तुति र अन्जन हुमागाईको अनुभूति सोही अवसरमा प्रस्तुत गरिएको थियो । कार्यक्रममा विद्यालय प्रिन्सिपल इन्दु थापा, नेपाल पत्रकार महासंघ अध्यक्ष बद्रीराज तिमल्सिना लगायतले राष्ट्रिय सेवा दलको महत्त्व र आवश्यकताका बारेमा धारणा राखेका थिए । काभ्रेपलाञ्चोक जिल्लामा सिनियर डिभिजनमा २ सय १६ जना र जुनियर डिभिजनमा २ सय ५२ जना विद्यार्थी सहभागी भई तालिम प्राप्त गरेका छन् । विपद्का समयमा तथा सामाजिक अभियानमा उक्त समूह सक्रिय हुँदै आएको छ ।

 

गणपति प्रमुख सेनानी प्रकाशबहादुर सिंहका अनुसार सिनियर डिभिजनमा कक्षा ११ र १२ तथा जुनियर डिभिजनमा कक्षा ८, ९ र १० का विद्यार्र्थी सहभागी छन । एउटा विद्यालयमा १८ छात्रा र १८ छात्रको डिभिजन तयार गरिएको छ । विशेष गरी स्थानीय स्तरमा हुने विभिन्न खालका विपद्, खोज तथा उद्धारका लागि राष्ट्रिय सेवा दलमा विद्यार्थीलाई आबद्ध गरिएको हो । दलमा आबद्ध पूर्व विद्यार्थी र अभिभावकलाई उद्देश्यबारे जानकारी गराए पछि विद्यार्थी छनौट हुनेछन् । विद्यार्थीको रुचि, उचाइ, तौल तथा शारीरिक स्वास्थ्य लगायत मापदण्डका आधारमा छनोट गरिन्छ । विद्यार्थीको अतिरिक्त समयमा सेनाको टोलीले विपद् खोज तथा उद्धार सम्बन्धी तालिम प्रदान गर्नेछ । सेवा दलमा सहभागी विद्यार्थीहरुलाई सेनाले नै पोशाक लगायतका आवश्यक सामाग्री उपलब्ध गराई तीन महिने तालिम दिँदै आएको छ । तालिम समापन भए पछि क्लोज क्याम्पबाट उत्कृष्ट भएकालाई सेनाले विभिन्न देशमा अध्ययन भ्रमणका लागि पठाउने गरेको छ । यो वर्ष जुनियर डिभिजन तालिम पश्चतको क्लोज क्याम्पमा पनौतीको सामुदायिक माध्यमिक विद्यालय प्रथम भएको छ ।


 

प्रतिक्रिया दिनुहोस्