लागूऔषधको दलदलमा फस्दै युवा



धनगढी ।

सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय लागूऔषध प्रयोगकर्ताको आकडा बढ्दै गएको देखिन्छ। केही समययता नेपाल प्रहरीले लागूऔषधको ओसारपसार र प्रयोग बढीरहेको जनाएको छ।

शुक्रवारमात्रै कञ्चनपुरको महेन्द्रनगरबाट साढे १५ किलो लागूऔषध (चरेश) सहित त्यहाँको प्रहरीले एक युवकलाई समातेको थियो। त्यो दिन बझाङको केदारस्युँ गाउँपालिका–७ का ४० वर्षीय करन धामीलाई पक्राउ गरिएको थियो।

सोही दिन सुदूरपश्चिमको अस्थायी मुकाम समेत रहेको धनगढीबाट ३२ वर्षीय रोहित भट्ट पनि समातिएका थिए। उनलाई ४४० मिलिग्राम अवैध लागूऔषधसहित कैलाली प्रहरीले पक्राउ गरेको थियो। यी दुई घटनाको विषयमा कञ्चनपुर र कैलाली प्रहरीले अनुसन्धान गरिरहेको छ।
त्यस्तै शनिवार पनि डडेल्धुराको अमरगढी नगरपालिका–९ का ३० वर्षीय राजेश पाल लागुऔषधसहित समातिए। उनी अत्तरियाबाट ५५० मिलिग्राम लागुऔषधसहित पक्राउ परेका थिए।

यी त केवल प्रतिनिधि घटना मात्र हुन्। कैलाली लगायत सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा भारतसँगको खुला सिमाना र सुरक्षा निकायको कमजोरीका कारण लागुऔषधको संजाल बढिरहेको छ।

यस्तै सीमावर्ती भारतीय बजारहरूमा हुने खुलेआम बेचबिखनलगायतका कारणले कैलाली र कञ्चनपुर लागुऔषध कारोबारीको अखडा बन्दै आएको छ। प्रहरीले केही समयको फरकमा लागुुऔषधसहित मानिसहरू समात्न थालेको लामो समय भइसकेको छ। तर कारोबारीहरूको सक्रियता पटक्कै घटेको छैन, झन बढ्दो छ। गाउँगाउँमा सवारी पहुँच, बजारीकरणसँगै लागुऔषधको जालो फैलिँदो छ। यहाँ विभिन्न किसिमको ट्याब्लेट र इन्जेक्सनदेखि गाँजा, चरेस र हेरोइनसम्मको प्रयोग हुने गरेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार अहिले लागुऔषधका कारण पक्राउ पर्नेमा १५ वर्षदेखि ४५ वर्ष उमेर समूहकाको संख्या बढी छ। पक्राउ परेकाहरूको तथ्यांक केलाउँदा लागुऔषध कारोबारी र प्रयोगकर्तामा युवा धेरै छन्। युवापुस्तालाई कुलतबाट जोगाउन प्रहरीले कैलालीमा सक्रियता बढाएको पनि दाबी गरेको छ। सोही कारण अहिले पक्राउ पर्नेको संख्यामा वृद्धि भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख देवेन्द्र पालले जानकारी दिनुभयो।

उहाँका अनुसार कैलाली र कञ्चनपुरमा अरु जिल्लाभन्दा बढी युवाहरु लागुऔषधको चंगुलमा परिरहेका छन्। मानव स्वास्थ्यका लागि खतरनाक मानिएको लागुऔषधको सेवन, ओसारपसार र विक्रीवितरण सबैभन्दा बढि कैलालीमा हुने गरेको छ। यहाँ औषतमा दैनिक दुई जना जिल्लाका विभिन्न स्थानबाट पक्राउ पर्ने गरेका छन्। कैलाली र कञ्चनपुरका कारागार लागूऔषध सेवनकर्ताले भरिन थालेका छन्। कैलाली र कञ्चनपुरका कारागारमा मात्र २ सय ७१ जना लागूऔषधसम्बन्धी मुद्दाका कैदीबन्दी छन्। कञ्चनपुर कारागारमा रहेका ४ सय ३५ कैदीबन्दीमध्ये १ सय १८ जना लागुऔषधसम्बन्धि मुद्दाका छन्। त्यस्तै कैलाली कारागारमा ६ सय २५ कैदीबन्दीमध्ये १ सय ५३ जना लागूऔषधसम्बन्धी मुद्दाका छन्। यसबाहेक जिल्ला प्रहरी, इलाका प्रहरी र प्रहरी चौकीमा गरेर एक सय ५० को संख्यामा थुनुवा छन्। सुदूरका पहाडी जिल्लाका कारागारमा समेत लागूऔषध मुद्दाका कैदीबन्दी बढ्दै गएको देखिएको छ। अधिकांश कैदीबन्दी १८ देखि ४० वर्ष उमेर समूहका युवा बढी छन्। अहिलेकै अवस्थामा लागूऔषध मुद्दाका कैदीबन्दी थप हुँदै जाने हो भने कारागारमा गम्भीर समस्या हुने सरोकारवाला बताउँनुहुन्छ। यता, लागुऔषध सेवन, ओसारपसार र विक्रीवितरणमा संलग्नहरुको निगरानी बढाउन सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले विशेष निगरानी बढाउने काम सुरु गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रहरी प्रवक्ता भरत चौधरीले बताउनुभयो।

उहाँले भन्नुभयो, ‘कैलाली कञ्चनपुरमा लागुऔषध ठुलो समस्याको रुपमा देखा परेको छ। यसको रोकथामका लागि प्रहरी सक्रिय भएर निगरानी बढाइरहेको छ।’लागूऔषध नियन्त्रणमा प्रहरी सक्रियता बढेपछि पछिल्ला ६ महिनामा कैदीबन्दीका रूपमा कारागार चलान हुने संख्या दोब्बरले बढ्न थालेको प्रहरी दाबी छ। दुई वर्षअघि र अहिलेको तथ्यांकमा तुलना गर्दा दोब्बरभन्दा बढीले लागूऔषधसम्बन्धी मुद्दाका कैदीबन्दी कारागार चलान भएका छन्। प्रहरीले लागूऔषध सेवनकर्ता र बिक्रीवितरणमा संलग्नलाई पक्राउ गरिरहेको भए पनि नियन्त्रण भने हुन सकेको छैन्। सुदूरपश्चिम प्रहरी अहिले पनि बिक्रीवितरणमा संलग्न ठूला गिरोहसम्म पुग्नै सकेको छैन्। पक्राउ पर्ने जति सेवनकर्ता बढी छन्।

नाकामा कुकुरसहितको प्रहरी टोली

कैलालीसहित सुदूरपश्चिममा लागुऔषधको ओसारपसार तथा प्रयोग रोक्न तालिम प्राप्त दुईओटा कुकुरसहितको प्रहरी टोली गौरीफन्टा नाकामा खटिने भएको छ। सोमवारदेखि जिल्ला प्रहरी कार्यालय कैलालीले प्रहरी टोली खटाएको जनाएको छ। अबदेखि नेपाल प्रहरीको आकस्मिक चेकजाँच गर्ने कार्यअन्तर्गत सीमानाकाबाट हुने लागुऔषध, तस्करी र विष्फोटक पदार्थको ओसारपसार नियन्त्रण गर्न तालिम प्राप्त कुकुरसहित नेपाल प्रहरी र ट्राफिक प्रहरी त्रिनगर नाकामा परिचालन गरिने बताइएको छ। जिल्लाका अन्य ठाउँमा पनि तालिमप्राप्त कुकुरसहित लागुऔषध नियन्त्रण र तस्करी रोक्न प्रहरीले काम गरिरहेको छ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्