‘स्वस्थ शहर’ धुलिखेल कार्यक्रमको समीक्षा



काभ्रे।

धुलिखेल नगरपालिकाले ‘स्वस्थ शहर धुलिखेल’ कार्यक्रमको समीक्षा तथा आगामी कार्यक्रमका बारेमा योजना तर्जुमा गरेको छ । नगरपालिकाको आधारभूत स्वास्थ्य तथा सरसफाइ शाखा अन्तर्गत कार्यरत कर्मचारी र जनप्रतिनिधिहरुले नेपालमा नमुना स्वस्थ शहर कार्यक्रमलाई थप प्रभावकारी बनाउनु पर्ने निष्कर्ष निकालेका छन् ।

‘नगरपालिकाले दिगो विकास लक्ष्यको प्राथमिकताका आधारमा स्वस्थ शहर कार्यक्रमलाई अगाडी बढाइएको छ’–नगर प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो–‘स्वस्थ शहर धुलिखेलका लागि खानेपानी, हावा, खाद्य गुणस्तर तथा विभिन्न सूचकाङ्कहरूलाई प्राथमिकतामा राखेर कार्य गरिरहेको छ ।’ अपाङ्गमैत्री शहर, महिला, बच्चा र युवाहरुलाई स्वस्थ बनाउन नगरपालिकाले तत्कालका समस्या र दीर्घकालीन योजनाका बारेमा नगरपालिकाले योजनागत रुपमा कार्य गरिरहेको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । दुई दिने समीक्षा कार्यक्रममा एक वर्षे रणनीतिक योजना र कार्यान्वयनका चुनौतीका बारेमा छलफल भएको थियो ।

नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकको उपधारा ९१० मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा नि:शुल्क प्राप्त गर्ने अधिकार र कसैलाई अधारभुत स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भन्ने अधिकारको सुनिश्चित गर्न तथा अनुसूची ८ को ९ बमोजिम आधारभूत स्वास्थ्य सेवा स्थानीय तहको एकल अधिकार क्षेत्रमा रहेकोले धुलिखेल नगरपालिकाले आफ्नो नगरवासीको हितको लागि महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरिएको आधारभूत स्वास्थ्य तथा सरसफाइ शाखाका प्रमुख सन्दीप केसीले बताउनु भयो ।

स्वस्थ सहर डिजिटल हेल्थ प्रोफाइल तथ्याक संकलन गरिएको छ । सोही तथ्याङ्कका आधारमा नगरपालिकाले योजना निर्माण गरी कार्यान्वयन सुरु गरिएको छ । स्वस्थ सहर टोल समिति गठन, वडा स्तर तथा बस्ती स्तरमा स्वस्थ शहर कार्यक्रम कार्यान्वयन समूह गठन, स्वस्थ  शहर नगर कार्यान्वयन तथा अनुगमन समिति गठन नियमावली अनुसार गठन, स्वस्थ शहर कार्यक्रमको विश्व स्वास्थ्य सङ्गठनद्वारा अनुगमन गरिएको केसीले बताउनु भयो ।

क्षयरोग निवारण, कलेज स्तरमा यौन तथा प्रजनन स्वास्थ्य कार्यक्रम, काभ्रे भञ्ज्याङ्गमा  १५ शय्याको अस्पताल भवन निर्माण, हरेक वडाका स्वास्थ्य चौकी भवन मर्मत तथा पुनर्निर्माण, धुलिखेल आयुर्वेद औषधालय भवन निर्माण गरिएको छ । पोषणमैत्री नगर, सुरक्षित मातृत्व, पूर्ण खोप, स्वस्थ खाना र महिला स्वास्थ्य स्वंसेवीहरुलाई प्रोत्साहन तथा शुन्य कार्वन उत्र्सजन लगायतका महत्त्वपूर्ण कार्यहरूलाई प्राथमिकतामा राखेको शाखा प्रमुख केसीले बताउनु भयो । स्वास्थ्य सूचना केन्द्र स्थापना, मानसिक स्वास्थ्य परामर्श सेवा सञ्चालन, गाउँघर क्लिनिक सुदृढीकरण, न्यूनतम गुणस्तर सेवा, परिवार नियोजन सेवा बिस्तार विभिन्न अधारभुत तथा नगर स्वास्थ्य सेवा केन्द्रहरुमा इम्प्लान्ट तथा आइयुसिडी सेवा, नि:शुल्क सेवा प्रदान लगायतका आधारभूत आवश्यकता नियमित उपलब्ध गराएको छ ।

स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोत्तम सेढाईले स्वस्थ शहर कार्यक्रम राम्रो तर चुनौतीपूर्ण रहेको बताउनु भयो । नागरिकहरुका घर घरमा भएको भान्सादेखि मुखसम्मको स्वास्थ्यको प्रभावकारितालाई स्थानीय सरकारले ध्यान दिनु पर्नेमा सेढाईले जोड दिनु भयो । समीक्षा कार्यक्रममा नगरपालिका १२ वटै वडामा भएका गतिविधि र अवस्थाको प्रस्तुति र आगामी योजनाका बारेमा छलफल भएको थियो । कार्यक्रममा स्वास्थ्य शाखा अधिकृत सरोज थापा, स्वास्थ्य अधिकृत डा. दीपक ढकाल, डा. सुजन अधिकारी, स्वास्थ्य कार्यालयका अधिकृत दीपेन्द्र श्रेष्ठ लगायतले स्वस्थ शहर कार्यक्रमलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्