चलचित्र सुटिङ दौरानमा ढलेकी कोरस डान्सरको समयमा उपचार हुन सकेन

चलचित्र टिम भन्छन् ‘हाम्रो गल्ती छैन’ 



कास्कीको माछापुच्छ्रे गाउँपालिकामा करिब ३१ दिन लगाएर छायाङ्कन गरिएको चलचित्र ‘प्रसाद २’ पछिल्लो समय विवादमा आएको छ ।
गएको एक हप्ता देखि चलचित्रका बारेमा अनेकौ कुराहरु बाहिर आइरहेका छन् । चलचित्र टिममाथि कोरस डान्सर सपना महर्जन ढल्दा बेवास्ता गरेको आरोप छ । जुन कुरा अहिले सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भइरहेको छ भने चलचित्र टिममाथि अनेकौँ आरोपहरु पनि आइरहेको छ ।

चलचित्रको गीत छायाङ्कन गर्दाको समयमा सपना ढल्न पुगेकी थिइन् । उनी ढलेपछि चलचित्र निमार्ण टोलीले सामान्य भनेर उपचारमा बेवास्ता गरेको थियो । उनी ढल्नुलाई सामान्य लिएपनि सपनाको अवस्था भने अहिले गम्भीर रहेको छ । उनको समयमा उपचार नहुँदा एक हात र एक खुट्टा चल्न छाडेको छ ।

चलचित्रको एउटा गीतको छायाङ्कनका लागि पोखराबाट ९ जना डान्सर बोलाइएको थियो । जसमा सपना महर्जन पनि थिइन् । गीतको छायाङ्कनको क्रममा महर्जन बेहोस भएर ढलेपछि पनि चलचित्र टिमले कुनै वास्ता नगरेको आरोप सामाजिक सञ्जाल टिकटक मार्फत गिभिना मगरले लगाएकी थिइन् ।

सामाजिक अभियन्ता गिभिना मगरले सपनाको समयमा उपचार नहुँदा हात खुट्टा नचलेको बताइन् । अस्पतालमा भेट्न पुगेकी सपनाले सामाजिक सञ्जाल टिकटकमा भनेकी छिन्, ‘सपना बहिनीलाई अहिले गण्डकी हस्पिटलमा (गण्डकी मेडिकल कलेज) राखिएको छ । प्रसाद फिल्मको जुन पनि डाइरेक्टर, प्रड्युसर जो पनि हुनुहुन्छ उहाँहरुले उहाँहरुले सायद एक मानवतामा हुनुपर्ने सहयोगी भावना राखेर हस्पिटल पुर्‍याउनुपर्ने ठाउँमा उहाँहरुले कुनै पनि वास्ता गर्नुभएन’ उनले भनिन्, ‘नानु (सपना) समयमै अस्पताल नआइपुग्दा आज एउटा हात र एउटा खुट्टा नचल्ने अवस्थामा पुगेको छ । उहाँहरु आफै विज्ञ हुनुहुन्छ । उहाँहरुमा थोरैभएपनि सपनाप्रति माया पलायन यसमा म निकै चिन्तित छु ।’

सपनाकी साथी एलिसा तामाङले पनि चलचित्र ‘प्रसाद २’ टीमको सहयोगमा नै आफूहरूले महर्जनलाई उपचारका लागि पोखरा ल्याएको बताएकी छिन् । उनले सुटिङका दौरान आफूहरूलाई समयमा खाना नदिएको समेत सुनाइन् । ‘ त्यो दिनमा हामीलाई समयमा खाना थिएन । हामीले भोक लाग्यो भन्दा पनि हामीलाई बिहानको खाजापछि हामीलाई सिद्यैं ३ बजे चिया बिस्कुट दिएको थियो’ उनले भनिन्, ‘हामी त्यो दिन कति नाच्यौ ।

साढे सात बजेदेखी नाचेर बिहानको खाना पनि बेलुका ५ बजे मात्रै खाएका थियौँ । खाना खादा त ६ नै बजेको थियो । सायद कोरश भनेर यतिसम्म भयो की आराम पनि पाएनौँ ।’एलिसका अनुसार त्यो दिन सपनाले एक्कासि बोमिट गर्न थालेकी थिइन् । चिसो होला तेल तताएर पैतला मालिस गरे पनि केही सुधार नभएपछि घर लगेर छाडिएको थियो । ‘रातको समय भएकाले हामीले घरमा नै उसलाई लग्यौँ । घरमा जाँदा उल्टै हामीलाई खानामा केही मिसाएको दोष लगाइयो’ उनले सुनाइन्,‘खासमा सपनाको खानपिनमा पहिले देखि नै समस्या भएकाले स्वास्थ्य अवस्था जटिल बनेको रहेछ । जुन कुरा मेडिकल रिर्पोटले पनि साबित गर्ला ।’

उता चलचित्र टोली भने सपनाको स्वास्थ्यलाई लिएर भन्दा पनि चलचित्रलाई लिएर चिन्तित बनेका छन् । चलचित्रका निर्देशक सुदर्शन थापाले चलचित्रलाई असफल बनाउन आफूहरूमाथि गम्भीर प्रकृतिको आरोप लगाइएको बताए । उनले सुटिङ सकिएपश्चात सपना ढलेको स्वीकार गरे पनि आफूहरूले बेवास्ता गरेको कुरा झुटो रहेको बताए । ‘बहिनी सपना महर्जनको विषयलाई लिएर जसरी सामाजिक सञ्जालमा टिप्पणी गरिएको छ । यस प्रति हाम्रो ध्यानाकर्षण भएको छ । कोरस डान्स गर्नुभएकी बहिनीको स्वास्थ्य लाभका लागि चलचित्र टिमले सक्दो सहयोग गरिरहेको छ ।’, उनले भने ।

थापाले सत्यता के हो त्यसको सोधखोज नगरीकन ‘प्रसाद २’ को विषयमा फैलाइएको अफवाह गलत भएको उल्लेख गरेका छन् । पौष ३० गते साढे ४ बजे सुटिङ सकेर होटलको रुम तर्फ लागेपछि सपनाको स्वास्थ्य अवस्था अचानक बिग्रेको खबर आफूले पछि मात्रै जानकारी पाएको अभिव्यक्ति उनको छ ।
‘सपना बहिनीको स्वास्थ्य अवस्था सुटिङको समय सम्म ठिक थियो । सुटिङ सकेर प्याकअप गरिसकेपछि हामी सबै बसोबास गरिरहेको होमस्टे तर्फ लाग्यौँ । बेलुका खाना खाइसकेपछि डान्सर बहिनीहरु आफू बसिरहेको होमस्टेमा रमाइलो गर्नुभएको रहेछ । जहाँ नाच्ने गाउने कार्यक्रम पनि भइरहेको थियो । सोही क्रममा बहिनी सपना महर्जन अचानक ढल्नुभएछ ।’

चलचित्र टिमले महर्जनकै उपचारका लागि नेपाल नृत्य संघलाई ५१ हजार रुपैयाँ हस्तान्तरण गरिसकेको उनले जानकारी दिए । तर त्यो पैसा उपचार गराइरहेकी सपनाको हातमा पुगेको छैन । यस विषयमा थापा भन्छन्,‘नेपाल नृत्य संघले अन्य संघसंस्थाबाट पनि फन्ट कलेक्सन गरिरहेको छ । हामी पनि लागिरहेका छौं । बहिनीको उपचार पोखरामा हुन सक्दैन भने काठमाडौंमा लगेर उपचार गराउन समेत हामी पछाडि फर्किनौं ।’ उनले मिथ्या समाचारको पछि नलाग्न समेत सबैलाई आग्रह गरेका छन् ।

कलाकार प्रकाश घिमिरेले सपना महर्जनको स्वास्थ्यलाई लिएर ‘प्रसाद २’ टिममाथि लगाइएको आरोप गलत भएको बताए । ‘म आफै प्रत्यक्ष त्यहाँ उपस्थित छु । हामीले नै कोर्डिनेसन गर्दै सपना बहिनीलाई उपचारका लागि पोखरा पठाएका छौ’ उनले भने, ‘अनि कसरी चलचित्र टिमले केही गरेन भन्ने कुरा आयो । मलाई अचम्म लाग्यो । सामाजिक सञ्जालमा ‘प्रसाद २’ लाई लिएर आएका विषयमा सत्यता छैन ।’

चलचित्रका निर्माता सुभाष थापाले सपना महर्जनको स्वास्थ्य प्रति आफू गम्भीर रहेको बताएका छन् । ‘कोरस डान्सर सपना बहिनीको स्वास्थ्य प्रति म र मेरो टिम गम्भीर छ । उहाँको उपचार पोखरा हुन सक्दैन भने पनि काठमाडौं लगेर हामी उपचार गराउँछौं । तर सामाजिक संजालमार्फत हामीमाथि लगाइएको आरोपको भने कुनै सत्यता छैन ।’,उनले भने ।

चलचित्र ‘प्रसाद २’ नयाँ वर्ष वैशाख १ मा रिलिज हुँदै छ । जसमा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्