ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा



वीरगन्ज।

पर्साको ठोरी गाउँपालिकाले सोनाम ल्होछारको अवसरमा ३ दिन सार्वजनिक विदा दिने भएको छ । पालिकाले तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसारको अवसरमा माघ ७ गतेदेखि ९ गते सम्म विदा दिने निर्णय गरेको हो ।

तामाङ समुदायले लिखित रुपमै विदाको माग गरेकोले तीन दिनसम्म विदा दिने निर्णय भएको ठोरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णलाल श्रेष्ठले जानकारी दिनुभयो । ७ गते शनिबार नै भएको र ८ गते सरकारले नै विदा दिएको तथा ९ गते पनि आफूहरुले विदा नै दिने निर्णय गरेको उहाँको भनाइ छ ।

ठोरी गाउँपालिका तामाङ समुदायको बाहुल्यता भएको क्षेत्र हो । देशभरका तामाङ समुदायले २८५९ औं सोनाम ल्होछार भव्यसँग मनाउँदैछन् । तामाङ समुदायले पुरानो वर्षलाई विदाई गरेर नयाँ वर्षको स्वागत गर्दै ल्होछार पर्व मनाउने गर्दछन् ।

अघिल्ला वर्षहरुमा समेत पालिकाले सोनाम ल्होछारको अवसरमा ३ दिन बिदा दिँदै आएको थियो । पर्वको अवसरमा माघ ९ गते सोनाम ल्होछार मूल समारोह समितिले बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गर्दैछ ।ख्याति प्राप्त तामाङ कलाकारहरुको साँस्कृतिक प्रस्तुती रहने कार्यक्रममा १ लाख ६३ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको समितिका कोषाध्यक्ष जितु पाख्रिनले जानकारी दिनुभयो ।

पर्साका १४ पालिका मध्ये ठोरीमा मात्रै तामाङ समुदायको बाहुल्यता रहेकोले विदाको माग गरिएको उहाँले बताउनुभयो ।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्