होटल व्यवसायीलाई विपद् जोखिम न्यूनीकरण सम्बन्धी अभिमुखीकरण



काभ्रे।

नगरकोटमा रहेका होटल ब्यवसायीहरुलाई विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा सम्पन्न भएको छ । यसअघि क्षेत्रीय होटल व्यवसायी संघ काभ्रेको आयोजनामा धुलिखेलमा सञ्चालनमा रहेका होटल ब्यवसायीहरुसँग सोही कार्यक्रम सञ्चालन गरिएको थियो ।

‘होटलहरुमा हुन सक्ने विपद् न्यूनीकरणमा सञ्चालक तथा कार्यरत कर्मचारीहरूलाई अभिमुखीकरण र पूर्वतयारी गराउन जरुरी छ’– प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भन्नुभयो–‘भान्सा तथा अन्यत्र हुन सक्ने विपदबाट पाहुना तथा स्वंय त्यहाँ कार्यरत व्यक्तिहरू र भौतिक संरचना समेत क्षति हुन नदिन आवश्यक पूर्व तयारीका लागि सबै सचेत रहनु पर्छ ।’ विपद् हरेक क्षेत्र र स्थानमा हुने भएकाले होटल व्यवसायलाई अझै सुरक्षित बनाउन विपद्को पूर्वतयारी स्वरुप सञ्चालक र कार्यरत कर्मचारीहरूलाई अभिमुखीकरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले बताउनु भयो ।

 

सोही कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पाण्डे, सहायक प्रमुख जिल्ला अधिकारी सुनुवार, प्रहरी प्रमुख एसपी चक्रराज जोशी, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय काभ्रेका प्रमुख राजन प्रजापति, कालीजंग गण धुलिखेलकी सेनानी प्रमीला केसी, सशस्त्र प्रहरीका केशवराज प्याकुरेल, नगरकोट नाल्दुम पर्यटन समितिका अध्यक्ष नवीन गुरुङ्ग र नगरकोटमा सञ्चालनमा रहेका होटल ब्यवसायीहरु लगायतको सहभागिता रहेको थियो ।

राजधानीसँग जोडिएको उपत्यकाको नजिक र उचाईमा रहेको नगरकोट काभ्रे र भक्तपुरको सिमाना हो । काभ्रेपलाञ्चोक जिल्लाको सिमाना भित्र अधिकांश होटल रहेकाले उक्त होटलहरुमा विपद् जोखिम न्यूनीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय काभ्रेको आयोजनामा क्षेत्रीय होटल व्यवसायी संघ लगायत काभ्रेपलाञ्चोकका होटल व्यवसायीहरुलाई विपद् उत्थानशील बनाउने सन्दर्भमा धुलिखेलमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो ।

सोही कार्यक्रममा क्षेत्रीय होटल संघका पदाधिकारीहरु तथा ब्यवसायीहरुको सहभागिता रहेको थियो । त्यस्तै जिल्ला प्रशासन कार्यालयले धुलिखेलका ब्यवसायीहरुसँग पूर्ण समय व्यवसाय सञ्चालन सम्बन्धी कार्यविधि, २०७९ को कार्यान्वयन सम्बन्धी छलफल गरेको थियो । सुरक्षा व्यवस्थापन, विपत् व्यवस्थापन तथा रात्रिकालीन व्यवसाय सञ्चालन सम्बन्धी स्थानीय प्रशासन र होटल ब्यवसायीहरुबीच अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्