फुटबल चलिरहेकै मैदानमा आचानक हेलिकप्टर ल्याण्ड गरेपछि पाइलटमाथि कुटपिट



स्याङ्जा ।

स्याङ्जाको एक फुटबल खेल मैदानमा खेल चलिरहेको बेला आचानक हेलिकप्टर ल्याण्ड गरिएपछि आक्रोशित स्थानीयले पाइलटमाथि हातपात गरेका छन् । बिहीबार दिउँसो पोखराबाट स्याङ्जा पुगेको प्रभु एयरको हेलिकप्टर वालिङ नगरपालिकास्थित फुटबल चलिरहेको मैदानमा आचानक अवतरण भएपछि पाइलटमाथि हातपात भएको प्रहरीले जनाएको छ । स्थानीयको कुटाइबाट हेलिकप्टरका पाइलट रानेश डंगोल सामान्य घाइते भएका छन्।

पाइलटमाथि हातपात भएको केहीबेरमै हेलिकप्टर त्यहाँबाट पोखरा फर्किएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। प्रहरीका अनुसार हेलिकप्टर वालिङकै विनोद गैरे, खिमबहादुर थापा, सुशील थापालगायत ४ जनाले प्रभुकाे हेलिकप्टर ४० हजारमा बुक गरेर पाेखराबाट वालिङ पुगेका थिए । उनीहरुले नै त्यहाँ हेलिकप्टर अवतरण गर्न लगाएको बताइएको छ ।

वालिङ गोल्डकपको सेमिफाइलको खेल भइरहेको स्थानमा हेलिकप्टर आचानक अवतरण भएपछि होहल्ला समेत भएको स्थानीय ले बताएका छन् । उनीहरुका अनुसार त्यहाँ एभिनियर एफसी क्यामरुन र वालिङ एफसी जुनियरबीच सेमिफाइनल भइरहेको थियो ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छन्।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्