घरदैलोमा पुगेर जेष्ठ नागरिकलाई सम्मान



पर्वत।

जिल्लाको कुश्मा नगरपालिकाले ज्येष्ठ नागरिकलाई सम्मान कार्यक्रम सुरुवात गरेको छ । नगरपालिकाले १४ वटै वडामा पुगेर जेष्ठ नागरिकलाई सम्मान गरेको हो ।

‘ज्येष्ठ नागरिक सम्मान तथा अन्तर पुस्ता हस्तान्तरण कार्यक्रम अन्तर्गत’ सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले बताउनुभो । ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाको जिम्मेवारी सबैमा रहेकोले उनीहरुप्रतिको सम्मान र सामाजिक सुरक्षालाई ध्यानमा राखेर यो कार्यक्रम सञ्चालन गरिएको हो।

एउटा वडाबाट सबैभन्दा ज्येष्ठ नागरिक एक जनालाई प्रमाणपत्र, दोसल्ला र एक थान ‘थर्मस’ तथा वडाका दुई जना विपन्न ज्येष्ठ नागरिकलाई एक थान ‘थर्मस’, एक थान ‘हर्लिक्स’ र एक थान ‘ब्लांकेट’ दिने गरी सदरमुकाम समेत रहेको कुश्मा नगरपालिका–५ बाट यो कार्यक्रमको सुरुवात गरिएको छ। यो कार्यक्रममा १४ वटा वडाका ४२ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिनेछ। कुश्मा नगरपालिका–५ र ७ बजारमै रहेकाले ज्येष्ठ नागरिकलाई वडामा बोलाएर सामग्री दिइएपनि बाँकी वडामा भने उनीहरुको घरमा नै पुगेर सामग्री वितरण गरिने छ।

नगरपालिकाको महिला तथा बालबालिका शाखाकी प्रमुख चेतकुमारी शर्माका अनुसार सम्बन्धित वडा कार्यालयले नै यो कार्यक्रममा समावेश गर्न सकिने ज्येष्ठ नागरिकहरु छनोट गरेर नामावली पठाएका छन्। त्यसैको आधारमा नगरपालिकाको कार्यालयबाट जाने जनप्रतिनिधि, कर्मचारी तथा वडाबाट जाने वडाध्यक्ष र सदस्यहरुले ज्येष्ठ नागरिकका घरमा नै पुगेर सामग्री वितरण गर्ने छन्।

 

 

 

प्रतिक्रिया दिनुहोस्